काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबीच रहेका असमझदारी हटाउने अपेक्षाका साथ आफूहरूले भ्रमणलाई हेरे पनि अपेक्षित परिणाम नआएको बताइन्।
‘भारत भ्रमण गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनु हुनेछ भन्ने थियो। विद्यमान असमझदारी हटाउन सहयोग गर्ने विश्वास गरेका थियौं। तर दुर्भाग्यको कुरा उहाँ न्यानो आतिथ्यतामा रमाउँदै बिछ्याइएका कार्पेटहरू कुल्चेर राष्ट्रवादलाई भुल्नुभयो,’ अर्यालले भनिन्।
उनले परराष्ट्रमन्त्री भारतको न्यानो आतिथ्यतामा रमाउँदै राष्ट्रहितविपरीत गतिविधिमा संलग्न भएको संकेत गर्दै भ्रमणले राष्ट्रिय हितको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरिन्।
अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध आफूहरूले संसदभित्र र बाहिर संघर्ष गरेको स्मरण गराउँदै उक्त अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रलाई नोक्सान पुर्याउने खालको रहेको दाबी गरिन्। बजेटमाथिको छलफल र त्यसलाई समयमै पारित गर्नुपर्ने जिम्मेवारीका कारण आन्दोलनका कार्यक्रम परिवर्तन गरिएको पनि उनले बताइन्।
उनले राष्ट्रहितका विषयमा सरकार गम्भीर हुनुपर्ने र छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ बनाउँदा राष्ट्रिय स्वाभिमान र हितलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरिन्।

















प्रतिक्रिया दिनुहोस्