Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड

साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड
विज्ञापन
Advertisement

सिलिगुडी । नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

भारतको सिलिगुडीमा आयोजित ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उच्चस्तरीय संवादमा सहभागीहरूले व्यापार, लगानी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका अवसरहरूको अधिकतम उपयोग गर्दै आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका हुन्। एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआइआइ) नर्थ बंगाल जोनल काउन्सिलको संयुक्त आयोजनामा भएको कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनयोग्य नीतिगत पहलमार्फत आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल गरिएको थियो।

संवादको उद्घाटन गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुनाल कयालले नेपाल र भारतबीचको अद्वितीय आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन संस्थागत सहकार्य अपरिहार्य रहेको बताए। सीआइआइ नर्थ बंगाल जोनल काउन्सिलका अध्यक्ष सतीश मित्रुकाले यस्ता संवादलाई नियमित बनाउँदै काठमाडौं र सिलिगुडीमा आयोजना गर्नुपर्ने धारणा राखे। कार्यक्रममा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले नेपाल सरकार निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्दै लगानीका लागि अनुकूल वातावरण निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै भारतीय उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले नीतिगत सहयोग, लगानी सहजीकरण तथा बलियो आर्थिक साझेदारीमार्फत दुवै देशले लाभ लिन सक्ने बताए।

सहभागीहरूले नेपाल–पश्चिम बंगाल आर्थिक करिडोरको बढ्दो महत्व औंल्याउँदै नेपालको जलविद्युत, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग तथा विशेष आर्थिक क्षेत्रमा थप लगानी आवश्यक रहेको बताए। शिक्षा, आतिथ्य र स्वास्थ्य सेवा क्षेत्रलाई पनि द्विपक्षीय आर्थिक सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा उल्लेख गरिएको थियो।

संवादमा सिलिगुडीलाई नेपाल, भारतको उत्तर–पूर्वी क्षेत्र, भुटान तथा बंगलादेशलाई जोड्ने रणनीतिक प्रवेशद्वारका रूपमा व्याख्या गर्दै यसको भौगोलिक लाभ उपयोग गरेर व्यापार, लगानी, पर्यटन तथा सीमापार आर्थिक एकीकरण विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। आयोजक आइडाका संस्थापक सुनील केसीका अनुसार आर्थिक कूटनीति प्रवर्द्धन गर्ने उद्देश्यले आइडाले विभिन्न अन्तर्राष्ट्रिय संवाद तथा थिंक ट्याङ्क कार्यक्रम सञ्चालन गर्दै आएको छ। पश्चिम बंगाल ऐतिहासिक रूपमा नेपालमा भारतीय लगानीको महत्वपूर्ण स्रोत रहँदै आएको र त्यहाँ मुख्यालय रहेका धेरै कम्पनीहरूले नेपाल–भारत आर्थिक सम्बन्धमा विश्वास अभिवृद्धि गरेको आइडाले जनाएको छ।

संवाद दिगो आर्थिक वृद्धि, क्षेत्रीय समृद्धि तथा व्यवहारिक साझेदारी र लगानीका अवसरलाई अघि बढाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit