काठमाडौं । आजदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शो २०२६ को सुरूवात हुँदै छ ।
स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको यसपटकको अटो शोको उद्घाटन उपराष्ट्रपतिबाट गर्ने तयारी गरिएको छ।
प्रदर्शनीमा विद्युतीय तथा हाइब्रिड सवारीसाधनसँगै नयाँ प्रविधिका रूपमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षणका रूपमा रहनेछन्। तर यसपटकको नाडा अटो शो केवल नयाँ गाडी र प्रविधि प्रदर्शन गर्ने थलोमा सीमित नभई नेपालको तीव्र गतिमा भइरहेको विद्युतीय सवारी संक्रमण र त्यससँग जोडिएका पूर्वाधार तथा नीतिगत चुनौतीमाथि बहस गर्ने महत्वपूर्ण मञ्च बन्ने देखिएको छ।
नेपालमा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्। निजी क्षेत्रका आयातकर्ता र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा करिब दुई हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।
नेपालमा भित्रिने विद्युतीय सवारीसाधनमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउने गरेका छन् भने बाँकी मुख्यतः भारतलगायतका मुलुकबाट आयात हुँदै आएका छन्।
विद्युतीय सवारीको विस्तार पछिल्लो एक दशकमा तीव्र गतिमा भएको हो। तर सवारीसाधनको विस्तारको तुलनामा चार्जिङ पूर्वाधारको विकास अझै पछाडि रहेको विषयलाई नाडा नेतृत्वले समेत सार्वजनिक रूपमा स्वीकार गर्दै आएको छ। यही अन्तरलाई यसपटकको अटो शोले एउटै प्रदर्शनीस्थलमा उजागर गर्नेछ।
सवारीसाधनतर्फ विद्युतीय तथा हाइब्रिड मोडलका विभिन्न ब्रान्ड तथा मोडल प्रदर्शनीमा रहनेछन्। नेपालको विद्युतीय सवारी बजारमा उल्लेख्य उपस्थिति बनाएको बीवाईडी, स्टेलान्टिसको लगानी रहेको लीपमोटर, विश्वका विभिन्न ब्रान्डको स्वामित्व रहेको समूहअन्तर्गतको जिली, साथै सहरी प्रयोगमा लक्षित माइक्रो ईभीसहित एमजी र वुलिङका सवारीसाधन प्रदर्शनमा रहनेछन्।
दुईपाङ्ग्रे विद्युतीय सवारीतर्फ कनेक्टेड विद्युतीय मोटरसाइकल रिभोल्ट तथा नेपालमै डिजाइन र एसेम्बल हुने यात्रीका उत्पादन पनि प्रदर्शनीका आकर्षण बन्नेछन्।
विद्युतीय सवारीको विस्तारसँग प्रत्यक्ष जोडिएको चार्जिङ पूर्वाधारलाई पनि यसपटक विशेष प्राथमिकता दिइएको छ। प्रदर्शनीका आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जरसँगै एक्सिकम, जेभपोइन्ट र एयरचार्जले एसी तथा डीसी चार्जिङ प्रणाली प्रदर्शन गर्नेछन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार नेपालमा विद्युतीय सवारीको विस्तार चार्जिङ पूर्वाधारको विकासभन्दा तीव्र भएको छ। उनका अनुसार गाडी, चार्जिङ पूर्वाधार र त्यसका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने पक्षलाई एउटै स्थानमा ल्याएर यस विषयमा खुला र व्यावहारिक छलफल गराउनु प्रदर्शनीको महत्वपूर्ण उद्देश्य हो।
यसैबीच, विद्युतीय सवारीसँग जोडिएको कर प्रणालीमा भएको पछिल्लो परिवर्तन पनि यसपटकको अटो शोको महत्वपूर्ण विषय बन्नेछ। नेपालमा विद्युतीय सवारीको आयात कर मोटरको किलोवाट क्षमतामा आधारित प्रणालीबाट मूल्यमा आधारित ८८‘क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट लेवी’८८मा सरेको छ। यो परिवर्तनलाई नेपाली ईभी बजारमा पछिल्लो समय भएको महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा हेरिएको छ।
यसको प्रत्यक्ष प्रभाव भोगिरहेका व्यवसायी, आयातकर्ता, उपभोक्ता तथा सम्बन्धित सरोकारवालाबीच नाडा अटो शोको मञ्चमा कर प्रणाली, विद्युतीय सवारीको बजार, चार्जिङ पूर्वाधार र भविष्यको नीति विषयमा बहस हुने अपेक्षा गरिएको छ।
यसरी १८औं नाडा अटो शो नयाँ सवारीसाधनको प्रदर्शनसँगै नेपालको विद्युतीय सवारीको वर्तमान अवस्था, पूर्वाधारको तयारी र आगामी नीतिगत दिशाबारे बहस गर्ने महत्वपूर्ण मञ्चका रूपमा प्रस्तुत हुँदैछ।
















प्रतिक्रिया दिनुहोस्