बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २६ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो । बिहान करिब सवा सात बजे साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा उक्त दुर्घटना भएको थियो। बस चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले बताए ।

उनका अनुसार,बस महेन्द्रनगरबाट मार्तडीतर्फ आउँदै गर्दा अचानक ब्रेकफेल भई सडकको बाँया नाली साइडमा पल्टिएको हो । घटनालगत्तै उद्दारमा अस्थायी प्रहरी पोस्ट रिठा बजारबाट प्रहरी सहायक निरीक्षक धनबहादुर देउवाको कमाण्डमा सात जनाको टोली खटिएको थियो ।

त्यस्तै प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा सात जना र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगनसिंह भाटको कमाण्डमा १२ जना गरी ट्राफिक प्रहरीसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराका एम्बुलेन्स परिचालन गरिएका थिए। २३ जना घाइतेलाई जिल्ला अस्पताल बाजुरा ल्याइएको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल पठाइएको छ। अन्य दुई घाइते भने आफैं मोटरसाइकलमार्फत अस्पताल पुगेको बताइएको छ ।

घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्