काठमाडौं । क्लिन्टन स्कुलकी विद्यार्थी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ को उपाधि जित्न सफल हुनुभएको छ। काठमाडौंस्थित होटल हार्दिकमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा देशभरका विभिन्न विद्यालयबाट सहभागी ३११ प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराई प्रथम हुनुभएको हो।
प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकार द्वितीय तथा अमृत सेकेन्डरी स्कुलका प्रतीक श्रेष्ठ तृतीय घोषित भएका छन्। देशभरका विद्यालयबाट सहभागी विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा टप २०, टप १० हुँदै अन्तिम चरणमा उत्कृष्ट तीन विद्यार्थी छनोट गरी विजेता घोषणा गरिएको थियो।
विजेताहरूलाई एक लाख रुपैयाँ बराबरको ल्यापटपसहित विभिन्न अत्याधुनिक उपकरण तथा विशेष पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। साथै टप २०, टप १० र टप ३ मा स्थान बनाउन सफल सम्पूर्ण विद्यार्थीलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सूचना प्रविधि महासंघ (CAN Federation) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले विजेताहरूलाई बधाई दिँदै विद्यार्थीहरूको प्राविधिक क्षमता र सिर्जनशीलताको प्रशंसा गर्नुभयो। उहाँले डिजिटल नेपालको परिकल्पना साकार पार्न यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आजका विद्यार्थीहरूले प्रदर्शन गरेको वेबसाइट निर्माणसम्बन्धी सीप र तार्किक क्षमताले सूचना प्रविधि क्षेत्रमा नेपालको भविष्य उज्ज्वल रहेको पुष्टि गरेको बताउनुभयो। लाइफ कम्प्युटरको यो पहल प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
कार्यक्रमकी अध्यक्ष तथा लाइफ कम्प्युटरकी म्यानेजिङ डाइरेक्टर लक्ष्मी खत्रीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रविधिको सकारात्मक प्रयोग र विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा यसलाई अझ प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा ‘बेस्ट स्टाफ अवार्ड’ समेत प्रदान गरिएको थियो। विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा पनि प्रदर्शन गरेका थिए।
विगत लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा सक्रिय लाइफ कम्प्युटरले बागबजार, कुमारीपाटी र सोह्रखुट्टेस्थित शाखामार्फत सफ्टवेयर डेभलपमेन्ट, वेब डिजाइन, यूआई/यूएक्स डिजाइन तथा ग्राफिक मल्टिमिडियालगायतका विषयमा व्यावसायिक तालिम प्रदान गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्