काठमाडाैं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ। नयाँ–नयाँ ब्रान्ड र मोडल बजारमा प्रवेश गरिरहेका बेला ग्राहकमा विद्युतीय स्कुटरको रेन्ज, ब्याट्री, बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स तथा ग्रामीण क्षेत्रमा चलाउन सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा पनि उत्तिकै छ।
याडिया विद्युतीय स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपाली बजारमा विभिन्न क्षमताका स्कुटर बिक्री गर्दै आएको छ। आगामी नाइमा मोबिलिटी एक्स्पो, नेपाली बजारमा याडियाको अवस्था, नयाँ उत्पादन, बिक्रीपछिको सेवा, एसेम्बलिङको सम्भावना तथा विद्युतीय सवारीसाधनको भविष्यका विषयमा कुजु नेपाल प्रालिका निर्देशक उमित श्रेष्ठसँग भाेजराज भण्डारीले गरेकाे कुराकानीको सम्पादित अंशः
नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणलाई लिएर तपाईंहरूको तयारी कस्तो छ?
गत वर्ष आयोजना भएको नाइमा मोबिलिटी एक्स्पो हामीले सोचेभन्दा पनि निकै सफल भएको थियो। कार्यक्रममा ग्राहकबाट निकै राम्रो प्रतिक्रिया पाएका थियौं। पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करणप्रति हाम्रो अपेक्षा अझै धेरै बढेको छ।
यसपटक आयोजकले पनि व्यापक तयारी गरिरहेको छ। विभिन्न ब्रान्डले ग्राहकका लागि नयाँ उत्पादन र आकर्षक योजना प्रस्तुत गर्नेछन्। याडियाले पनि एक्स्पोमा तीनवटा फरक प्रकृतिका नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। ती उत्पादन सार्वजनिक भएपछि नेपाली ग्राहकले याडियालाई हेर्ने दृष्टिकोण अझ सकारात्मक र फराकिलो हुने हाम्रो विश्वास छ।
यसपटकको नाइमा तपाईंहरुले आफ्ना उपभोक्तालाई नयाँ के दिदैं हुनुहुन्छ?
विगतमा जस्तै यसपटक पनि हामी हाम्रा ग्राहक उपभोक्तालाई आकर्षण गर्नेगरी तयारी गरेका छौं । यसपटक नयाँ तीनवटा फरक क्षमताको विद्युतीय स्कुटल सार्वजनिक गर्ने तयारीमा छौं,हेरौं कति सफल हुन्छौं ।
सार्वजनिक गर्न लागिएका तीन नयाँ स्कुटरका मुख्य विशेषता के–के हुन्?
तीनवटै स्कुटर फरक–फरक आवश्यकता भएका ग्राहकलाई लक्षित गरी ल्याउन लागिएको हो। एउटा लामो दूरीमा चलाउन मिल्ने ‘लङ रेन्ज’ स्कुटर हुनेछ। अर्को उच्च क्षमता र शक्तिशाली मोटर भएको ‘पर्फर्मेन्स’ स्कुटर हुनेछ भने तेस्रो दैनिक प्रयोगका लागि उपयुक्त मोडल हुनेछ।
एउटा मोडलले एकपटकको पूर्ण चार्जमा करिब ३०० किलोमिटरसम्म रेन्ज दिनेछ। अर्को पर्फर्मेन्स स्कुटरले करिब १५० किलोमिटर र दैनिक प्रयोगका लागि ल्याइने स्कुटरले १०० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। मूल्य अहिले नै सार्वजनिक गर्न नमिले पनि प्रतिस्पर्धी र ग्राहकले स्वीकार गर्न सक्ने मूल्यमा उत्पादन ल्याउने तयारी छ।
याडिया लगातार बजारमा अग्रणी बन्न सफल हुनुको मुख्य कारण के हो?
याडिया करिब २५ वर्ष पुरानो विश्वव्यापी कम्पनी हो। कम्पनीले अनुसन्धान तथा विकासमा ठूलो लगानी गर्दै आएको छ। फरक देशको भूगोल,सडकको अवस्था र ग्राहकको आवश्यकताअनुसार उसले फरक–फरक उत्पादन विकास गर्छ।
याडियाका उत्पादन न्यून आय भएका ग्राहकदेखि उच्च क्षमता र ‘पर्फर्मेन्स’ खोज्ने ग्राहकसम्मलाई लक्षित गरी तयार गरिएका छन्। कुनै कम्पनीसँग सस्तो मूल्यको उत्पादन मात्र हुन्छ भने कुनैसँग महँगो वा प्रिमियम उत्पादन मात्र हुन सक्छ। तर याडियासँग विभिन्न मूल्य र क्षमताका उत्पादन उपलब्ध छन्।
कम्पनीको उत्पादन क्षमता पनि ठूलो छ। चीनसहित विभिन्न देशमा उत्पादन केन्द्र विस्तार भइरहेका छन्। उत्पादन र बिक्री मात्र होइन, बिक्रीपछिको सेवामा पनि कम्पनीले विशेष प्राथमिकता दिएको छ। यही अनुसन्धान, उत्पादन क्षमता, सेवाको प्रणाली र ग्राहकको विश्वासका कारण याडियाले विश्व बजारमा आफ्नो बलियो उपस्थिति कायम गर्न सकेको हो।
बजारमा तपाईंहरु जस्तै ब्राण्डका धेरै विद्युतीय दुई पांग्रे साधन आइसकेके अवस्थामा नेपालमा याडियालाई स्थापित गर्न तपाईंहरूले कस्तो रणनीति अपनाउनुभयो?
हाम्रो उद्देश्य स्कुटर बेच्नु मात्र थिएन। नेपालमा विद्युतीय स्कुटरबारे जनचेतना बढाउनु पनि आवश्यक थियो। हामीले ग्राहकलाई विद्युतीय सवारीको प्रविधि, सञ्चालन खर्च, ब्याट्री, रेन्ज र फाइदाबारे बुझाउँदै गयौं ।
ब्रान्ड स्थापित गर्न कम्पनीको प्रयास मात्र पर्याप्त हुँदैन। ग्राहकको अनुभव र प्रतिक्रिया सबैभन्दा महत्त्वपूर्ण हुन्छ। ग्राहकले राम्रो राइडिङ अनुभव पाए, समयमा सेवा पाए र समस्या समाधान भयो भने उनीहरूले अरूलाई पनि त्यो ब्रान्डबारे सकारात्मक कुरा सुनाउँछन्।
याडिया स्थापित हुनुमा ग्राहकको विश्वास र सकारात्मक प्रतिक्रियाको ठूलो योगदान छ। हामीले विज्ञापन गरेर मात्र ब्रान्ड निर्माण गरेका होइनौं। सन्तुष्ट ग्राहकहरूले नै याडियालाई बजारमा स्थापित गर्न सहयोग गर्नुभएको हो।
बिक्रीपछिको सेवालाई तपाईंहरूले कति प्राथमिकता दिनुभएको छ?
उत्पादन बिक्री गर्नु एउटा पक्ष हो, तर बिक्रीपछि ग्राहकलाई कस्तो सेवा दिइन्छ भन्ने विषय अझ महत्त्वपूर्ण हुन्छ। स्कुटरमा समस्या आउँदा समयमा मर्मत हुन्छ कि हुँदैन, आवश्यक स्पेयर पाट्र्स उपलब्ध हुन्छ कि हुँदैन र ग्राहकको गुनासो कति छिटो सम्बोधन हुन्छ भन्ने कुराले ब्रान्डप्रतिको विश्वास निर्धारण गर्छ।
हामीले बिक्रीपछिको सेवामा कुनै कमी नराख्ने प्रयास गरेका छौं। नेपालमा समाधान गर्न नसकिएको प्राविधिक समस्या भए चीनस्थित याडियाको प्राविधिक टोलीसँग तत्काल समन्वय गर्छौं। हामी प्रायः नियमित रूपमा प्राविधिक टोलीसँग सम्पर्कमा हुन्छौं। ग्राहकको समस्या सकेसम्म छिटो समाधान गर्नु हाम्रो प्राथमिकता हो। सबै ग्राहक शतप्रतिशत सन्तुष्ट छन् भनेर दाबी गर्न सकिँदैन। तर कुनै पनि ग्राहकको समस्या बेवास्ता गरेका छैनौँ। ग्राहकको समस्या समाधान गर्न सक्दो प्रयास गरेका छौं।
नेपालमा याडियाको बिक्री लक्ष्य कति छ?
हामी अहिले पनि विस्तारको चरणमै छौं। सुरुआती वर्षको तुलनामा प्रत्येक वर्ष बिक्री बढ्दै गएको छ। चालु वर्षका लागि हामीले करिब तीन हजार युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं। लक्ष्यको नजिक पुगिसकेका छौं र निर्धारित लक्ष्य पूरा हुने विश्वास छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विद्युतीय सवारीप्रतिको आकर्षण र कम सञ्चालन खर्चका कारण पनि बिक्रीमा सकारात्मक प्रभाव परेको छ।
याडियाको सबैभन्दा बढी बिक्री हुने मोडल कुन हो?
याडियाको ‘ई–८ एस प्रो’ मोडलले नेपाली बजारमा राम्रो प्रतिक्रिया पाएको छ। यो मोडल उचित मूल्य, राम्रो रेन्ज र दैनिक प्रयोगका लागि उपयुक्त भएकाले धेरै ग्राहकको रोजाइमा परेको हो।
सुरुआती चरणमा विद्युतीय स्कुटर महँगो थिए र रेन्ज पनि कम थियो। त्यतिबेला बजारमा एनएमसी लिथियम ब्याट्री प्रयोग भएका स्कुटर उपलब्ध थिए। मूल्य उच्च भएकाले सबै ग्राहकले किन्न सक्ने अवस्था थिएन।
पछि याडियाले ग्राफिन ब्याट्री प्रविधिको स्कुटर ल्यायो। ग्राफिन ब्याट्री लिड एसिड ब्याट्रीकै विकसित रूप भए पनि यसको कार्यक्षमता र आयु राम्रो थियो। कम मूल्यमा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकले मन पराए। अहिले प्रविधि फेरि विकसित भएको छ। एलएफपी अर्थात् लिथियम आइरन फस्फेट ब्याट्री आएका छन्। यस्ता ब्याट्री तुलनात्मक रूपमा सुरक्षित, टिकाउ र हलुका हुन्छन्। नयाँ प्रविधिसँगै कम मूल्यमा राम्रो रेन्ज र लामो वारेन्टीका उत्पादन आउन थालेका छन्।
ई–८ एस प्रो ठूलो संख्यामा बिक्री हुने मोडल हो भने ओविन र भिक्सजस्ता मोडललाई प्रिमियम तथा फ्ल्यागसिप उत्पादनका रूपमा ग्राहकले रुचाइरहेका छन्।
विद्युतीय स्कुटर सहरमा मात्र उपयुक्त हुन्छ, ग्रामीण तथा उकालो बाटोमा चल्दैन भन्ने धारणा छ। वास्तविकता के हो?
यो धारणा पूर्ण रूपमा सही होइन। विद्युतीय स्कुटरको क्षमता मोटरको पावरले निर्धारण गर्छ। पेट्रोल बाइकको क्षमता इन्जिनको सीसीबाट बुझिएजस्तै विद्युतीय स्कुटरको क्षमता मोटरको वाटबाट बुझिन्छ।
काठमाडौं जस्ता सहरमा दैनिक प्रयोगका लागि २८ सयदेखि तीन हजार वाटसम्मका मोटर पर्याप्त हुन सक्छन्। धेरै उकालो, कठिन बाटो वा बढी पर्फर्मेन्स आवश्यक भए उच्च क्षमताको मोटर भएको स्कुटर रोज्नुपर्छ।
हामीसँग विभिन्न क्षमताका मोटर भएका स्कुटर छन्। करिब २८ सय, ३२ सय, ३७ सय, पाँच हजारदेखि अझ उच्च क्षमताका मोडलसमेत उपलब्ध छन्। पर्याप्त मोटर पावर भएको स्कुटरले उकालो बाटोमा पनि राम्रो प्रदर्शन गर्छ। मुख्य कुरा ग्राहकले आफ्नो आवश्यकता पहिचान गर्नुपर्छ। दैनिक सहरभित्र मात्र चलाउने हो कि ग्रामीण सडक, उकालो वा लामो दूरीमा चलाउने हो, त्यसअनुसार स्कुटर छनोट गर्नुपर्छ भन्ने मलाई लाग्छ ।आवश्यकता अनुसारको उत्पादन किन्दा पर्फर्मेन्स कमजोर भएको महसुस हुन सक्छ।
बजारमा धेरै ब्रान्ड आउँदा ग्राहकले सही विद्युतीय स्कुटर कसरी छनोट गर्ने?
बजारमा परिचित र स्थापित ब्रान्डसँगै धेरै नयाँ तथा अपरिचित ब्रान्ड पनि आएका छन्। केही ब्रान्डले अत्यन्त सस्तो मूल्य र अस्वाभाविक रूपमा लामो वारेन्टीको दाबी गर्छन्। ग्राहकले मूल्य र वारेन्टी मात्र हेरेर निर्णय गर्नु हुँदैन।
ब्रान्डको इतिहास, अनुसन्धान तथा विकास क्षमता, नेपालमा रहेको डिलर नेटवर्क, वर्कशप, स्पेयर पाट्र्स, प्राविधिक जनशक्ति र बिक्रीपछिको सेवा हेर्नुपर्छ। शोरुम राम्रो देखिनु मात्र पर्याप्त हुँदैन। उत्पादनमा समस्या आएपछि कम्पनीले कस्तो सेवा दिन्छ भन्ने बुझ्नुपर्छ।
ग्राहकले आफ्नो आवश्यकता पहिचान गरेर विभिन्न ब्रान्ड तुलना गर्नुपर्छ। टेस्ट राइड गर्नुपर्छ, मोटर पावर, ब्याट्री, रेन्ज, वारेन्टी तथा सेवा केन्द्रबारे जानकारी लिनुपर्छ। त्यसपछि मात्र निर्णय गर्नु उपयुक्त हुन्छ।
नेपालमै याडियाका स्कुटर एसेम्बल गर्ने योजना छ?
अहिले तत्काल एसेम्बल प्लान्ट स्थापना गर्ने योजना छैन। एसेम्बलिङ उद्योग स्थापना गर्न ठूलो लगानी, दक्ष जनशक्ति, प्रविधि र पर्याप्त बजार आवश्यक पर्छ।नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार अहिले पनि विस्तारको प्रारम्भिक चरणमा छ। बिक्रीको संख्या निश्चित तहमा पुगेपछि एसेम्बलिङबारे सोच्न सकिन्छ। वार्षिक ठूलो संख्यामा बिक्री हुन थालेपछि त्यसको व्यावसायिक सम्भाव्यता अध्ययन गर्न सकिन्छ।
अहिले नै ठूलो लगानी गरेर एसेम्बलिङ सुरु गर्दा लागतअनुसारको प्रतिफल नआउन सक्छ। भविष्यमा बजारको आकार बढ्यो र सरकारको नीति सहयोगी भयो भने सम्भावनाको ढोका खुला छ।
नेपालमा एसेम्बल गर्दा कस्तो फाइदा हुन सक्छ?
एसेम्बलिङ गर्दा हुने फाइदा सरकारको कर तथा भन्सार नीतिमा निर्भर हुन्छ। पेट्रोलियम वा व्यावसायिक सवारीमा आयात कर उच्च भएकाले नेपालमा एसेम्बल गर्दा ठूलो रकम बचत हुन सक्छ।
तर विद्युतीय दुईपाङ्ग्रे सवारीमा अहिले भन्सार दर तुलनात्मक रूपमा कम छ।
सरकारले सामान्य छुट मात्र दिएमा नेपालमा एसेम्बल गर्दा लागतमा ठूलो फरक नपर्न सक्छ। एसेम्बल प्लान्ट, दक्ष जनशक्ति र उपकरणमा ठूलो लगानी गर्नुपर्ने भएकाले नीतिगत प्रोत्साहन पर्याप्त हुनुपर्छ।
सरकारले दीर्घकालीन र स्थिर नीति, कर छुट, उपकरण आयातमा सहुलियत तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट व्यवस्था ल्याएपछि मात्र एसेम्बलिङ व्यावसायिक रूपमा आकर्षक हुन सक्छ।
स्पेयर पाटर्स र वर्कशपको उपलब्धता कस्तो छ?
याडियाका आवश्यक स्पेयर पाट्र्स हाम्रो आधिकारिक वर्कशपमा उपलब्ध छन्। काठमाडौंसहित विभिन्न स्थानमा डिलर र सेवा केन्द्र विस्तार गरिरहेका छौं। देशभर करिब १७ वटा डिलर नेटवर्क छन् र अधिकांश डिलरसँग आफ्नै वर्कशप पनि छन्।
पेट्रोलियम सवारीको जस्तो प्रत्येक टोलमा विद्युतीय सवारीको वर्कशप भइसकेको छैन। विद्युतीय सवारीको बजार नयाँ भएकाले यस्तो संरचना विस्तार हुन समय लाग्छ। तर बिक्री बढेसँगै वर्कशप र दक्ष प्राविधिक जनशक्ति पनि बढ्दै जानेछन्।
ग्राहक हाम्रो सेवा केन्द्रभन्दा टाढा हुँदा स्कुटरमा समस्या आयो भने रोडसाइड असिस्टेन्स उपलब्ध गराउने प्रयास गर्छौं। आवश्यक अवस्थामा प्राविधिक टोली पठाउने, स्पेयर पाट्र्स पठाउने वा स्थानीय मेकानिकलाई भिडियो कलमार्फत निर्देशन दिएर समस्या समाधान गर्ने गरेका छौं जसरी भए पनि ग्राहकको समस्या समाधान गर्नु हाम्रो जिम्मेवारी हो।
विद्युतीय दुईपांग्रे सवारीको विकासका लागि सरकारबाट कस्तो सहयोग आवश्यक छ?
अहिलेको कर नीति तुलनात्मक रूपमा उचित नै छ। तर अब सबैभन्दा आवश्यक विषय पूर्वाधार र दक्ष जनशक्ति विकास हो। दुईपांग्रे सवारीलाई अहिले चारपांग्रे विद्युतीय सवारीजस्तो ठूला फास्ट चार्जिङ स्टेसन अनिवार्य भइसकेको छैन। सामान्य विद्युत् स्रोतबाट पनि चार्ज गर्न सकिन्छ। तर भविष्यमा उच्च क्षमता र फास्ट चार्जिङयुक्त स्कुटर आएपछि त्यसअनुसारको पूर्वाधार आवश्यक पर्न सक्छ।
सरकारले आधिकारिक कम्पनीसँग सहकार्य गरेर स्थानीय वर्कशपका मेकानिकलाई विद्युतीय सवारीसम्बन्धी तालिम दिनुपर्छ। आधारभूत विद्युतीय प्रणाली, मोटर, कन्ट्रोलर र ब्याट्रीसम्बन्धी ज्ञान विस्तार गर्न सकियो भने ग्राहकले देशका विभिन्न स्थानमा सहज सेवा पाउन सक्छन्। सेवा र प्राविधिक पूर्वाधार विस्तार भएपछि ग्राहकको विद्युतीय सवारीप्रतिको विश्वास बढ्छ र बजार अझ छिटो विस्तार हुन्छ।
अन्त्यमा विद्युतीय स्कुटर किन्न चाहने ग्राहकलाई के सुझाव दिनुहुन्छ?
भविष्य विद्युतीय सवारीकै हो। तर नयाँ प्रविधि भएकाले ग्राहकमा केही डर, जिज्ञासा र अन्योल हुनु स्वाभाविक हो। कसैले दोस्रो सवारीका रूपमा विद्युतीय स्कुटर किन्न चाहनुहुन्छ भने कसैको दैनिक जीवन र रोजगारी नै सवारीसाधनमा निर्भर हुन सक्छ।
त्यसैले हतारमा उत्पादन किन्नु हुँदैन। बजारका छदेखि आठवटा ब्रान्डको सूची बनाएर तुलना गर्नुपर्छ। शोरुम, उत्पादन, वर्कशप, डिलर नेटवर्क, स्पेयर पाट्र्स र बिक्रीपछिको सेवा हेर्नुपर्छ। आफ्नो दैनिक यात्रा, सडकको अवस्था, आवश्यक रेन्ज र मोटर पावर पहिचान गर्नुपर्छ। टेस्ट राइड गरेर मात्र सही उत्पादन छनोट गर्नुपर्छ।
गुणस्तरीय विद्युतीय स्कुटर सामान्य वा अपरिचित उत्पादनभन्दा केही महँगो हुन सक्छ। तर त्यसले दीर्घकालमा राम्रो सेवा र बढी बचत दिन्छ। इन्धन खर्च घट्छ, मर्मत खर्च कम हुन्छ र वातावरणीय प्रदूषण पनि कम गर्न सहयोग पुग्छ।
विद्युतीय सवारीको प्रयोग बढ्दा देशको पेट्रोलियम आयात र विदेशी मुद्रा खर्च कम गर्न पनि सहयोग पुग्छ। धेरै ग्राहकले विद्युतीय स्कुटरबाट भएको बचतलाई परिवारको शिक्षा, खानपान र जीवनस्तर सुधारमा प्रयोग गर्नुभएको छ। त्यसैले सही उत्पादन छनोट गर्न सके विद्युतीय सवारीले व्यक्तिगत र राष्ट्रिय दुवै अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्छ।















प्रतिक्रिया दिनुहोस्