काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो शाखा कार्यालय महेन्द्रनगरमार्फत कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई आवश्यक स्टेशनरी तथा शैक्षिक सामग्री उपलब्ध गराइएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिंह भाटले बेदकोट–८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यार्थीलाई सामग्री वितरण गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका हुने भएकाले बैंकको सहयोगले उनीहरूको पठनपाठनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, शाखा प्रमुख भाटले शिक्षा क्षेत्रमा सहयोगमार्फत समुन्नत समाज निर्माणमा बैंकले हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कामना सेवा विकास बैंकले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।















प्रतिक्रिया दिनुहोस्