काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा हालै शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति रहेको थियो।
कम्पनीले पूर्वी नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रलाई लक्षित गर्दै विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गरिरहेको जनाएको छ। उक्त होटल भारतको लेमन ट्री होटल समूहअन्तर्गतको कार्नेशन होटल्स प्रा.लिसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो।
होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड र व्यावसायिक व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा आतिथ्य उद्योगको विकासमा योगदान पुर्याउने कम्पनीको विश्वास छ।















प्रतिक्रिया दिनुहोस्