काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा ‘प्रबन्ध सञ्चालक कप फुटसल प्रतियोगिता–२०८३’ आयोजना गरेको छ।
हालै काठमाडौंस्थित धनवन्तरी फुटसल मैदानमा सम्पन्न ‘एमडीएस कप फुटसल टुर्नामेन्ट’ मा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताले कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको छ। कार्यस्थल बाहिर पनि टोलीगत भावना र सकारात्मक ऊर्जा विकास गर्न यस्ता खेलकुद गतिविधि प्रभावकारी हुने विश्वास बैंकको छ।
प्रतियोगितामा व्यवस्थापन टोली र महिला टोलीबीच प्रदर्शनी खेल सञ्चालन गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय तथा केन्द्रीय कार्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
देशभरबाट १५० भन्दा बढी कर्मचारी सहभागी भएको प्रतियोगितामा कर्मचारीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै संस्थाभित्रको एकता र सहकार्यको भावनालाई थप सुदृढ बनाएको बैंकले जनाएको छ। समापन समारोहमा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी तथा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले विभिन्न विधाका विजेता तथा सहभागी टोलीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिवारीले देशभरका कर्मचारीहरूको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले कर्मचारी संलग्नता, सहकार्य र स्वस्थ संस्थागत संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ विस्तारित काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।















प्रतिक्रिया दिनुहोस्