काठमाडौं । उपत्यकामा सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा (ब्ल्याक फिल्म) हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच विस्तृत छलफल भएको छ।
सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विषयमा छलफल गरेको हो।
छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सवारी साधनमा कालो सिसाको प्रयोग उपयुक्त नभएको तथा यस्ता सवारी विभिन्न आपराधिक गतिविधिमा समेत प्रयोग हुने गरेको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कालो सिसा हटाउने अभियान सञ्चालन गरिएको जानकारी दिए।
उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा अन्य कुनै पनि स्टिकर टाँस्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ताले पनि खरिदकर्तालाई यसबारे स्पष्ट जानकारी गराउन आग्रह गरे। कालो सिसा प्रयोग गर्न चाहनेले सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने र उत्पादक कम्पनीबाट नै कालो सिसा जडान भएका सवारी आयात नगर्न पनि काफ्लेले सुझाव दिए।
नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारीमा प्रयोग गरिएको कालो स्टिकर प्राविधिक रूपमा सहजै हटाउन सकिने भएकाले पहिलो चरणमा त्यही प्रक्रिया अघि बढाउन उपयुक्त हुने धारणा राखे।नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाट नै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नभएकाले यकिन तथ्यांक संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउन सकिने बताएको जनाइएको छ।
यस विषयमा छलफलका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो। छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतका पदाधिकारीको पनि उपस्थिति रहेको थियो।















प्रतिक्रिया दिनुहोस्