काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकका औद्योगिक क्षेत्रमा पटकपटक हुने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीका कारण औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर परिरहेको महासंघले जनाएको छ। लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्। नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालनमा अवरोध ल्याई उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याएको छ। यसको परिणामस्वरूप उत्पादनमा भारी गिरावट आएको छ।
त्यसैगरी, बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी तथा अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका छन्। यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना महासंघले औंल्याएको छ। सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो तथा नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन पनि महासंघले आग्रह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्