काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँको मुख्य समयमा किसान मल अभावले चिन्तित बनिरहँदा मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाइएको जनाएको हो।
मन्त्रालयका अनुसार सरकार–सरकारबीच (जीटुजी) सम्झौताअन्तर्गत भारतबाट ८० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको छ। पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्नेछ भने थप ३० हजार मेट्रिक टन पनि साउनभित्रै आउने तयारी छ।
यस्तै, ग्लोबल टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात भइरहेको मन्त्रालयले जनाएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ ।
ओमानबाट ल्याइँदै गरेको ३० हजार मेट्रिक टन युरिया असार अन्तिमसम्म कोलकाता बन्दरगाह पुग्ने र साउन दोस्रो सातासम्म नेपाल भित्रिने बताइएको छ। त्यस्तै, ३० हजार मेट्रिक टन डीएपी हर्मुज पार गर्दै विशाखापट्टनम बन्दरगाह पुगिसकेको छ र असार २० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ।
साल्ट ट्रेडिङका अनुसार थप ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ। यो मल साउन पहिलो साता कोलकाता पुगेर साउन अन्तिमसम्म नेपाल आइपुग्नेछ। यसैगरी, कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कतारबाट ३० हजार मेट्रिक टन युरिया नेपाल पठाइसकिएको छ भने साउदी अरेबियाबाट पनि ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको छ। दुवै खेप असार अन्तिमसम्म कोलकाता पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी लोड भइसकेको छ। यो खेप असार अन्तिमसम्म कोलकाता पुगेर साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ। तर, देशका विभिन्न क्षेत्रमा किसानहरू अझै पनि मल अभावका कारण खेतीपाती प्रभावित हुने चिन्तामा छन्।















प्रतिक्रिया दिनुहोस्