काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गोबाक्साबाट ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद भएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब साढे पाँच बजे कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो।
जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीका गरगहना फेला परेका हुन्।
बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८/१८ थान सिङ्गल तथा डबल ब्रोच, ५ थान ठूला र २ थान साना शिरफूल, १६ थान नेपालको झण्डा अंकित ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मंगलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल रहेका छन्।

प्रहरीका अनुसार उक्त सामान बौद्धस्थित युनिक कार्गो झापा मार्फत एपेक्स लजिस्टिक प्रालि को माध्यमबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको थियो। प्रारम्भिक जानकारीअनुसार कार्गोले भन्सार जाँचपाससमेत गरिसकेको थियो। त्यसपछि विमानस्थलको सुरक्षा जाँचका क्रममा एक्स–रे परीक्षणमा शंका लागेपछि पुनः परीक्षण गर्दा गरगहना फेला परेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
बरामद गरिएका गरगहना र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गरिएका गरगहनाको वास्तविक धातु, तौल र मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्