काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द नगर्ने निर्णय गरिएको छ। वर्षाका कारण निर्माण कार्य प्रभावित भएपछि पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरिएको हो।
डिभिजन सडक कार्यालयका अनुसार आजदेखि १५ दिनसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्दै पहिलो चरणको कालोपत्रे गर्ने योजना थियो। तर, केही दिनयताको वर्षाले ‘सिटिबी’ र ‘डिबीएम’का लागि तयार गरिएको सब–बेस केही स्थानमा बगाएको तथा क्षति पुर्याएकाले आवागमन रोकेर निर्माण गर्ने काम तत्काल सम्भव नभएको जनाएको छ।
कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले कार्यतालिका परिवर्तन गर्नुपर्ने जानकारी दिँदै सडक बन्द गर्ने निर्णय केही समयका लागि स्थगित गरेको हो।
यसअघि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले आजदेखि साउन ४ गतेसम्म उक्त सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गर्ने तथा अन्य सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने तयारी गरिएको थियो।
चार किलोमिटर लामो यस सडकखण्डको स्तरोन्नति कार्य तीव्र बनाउने उद्देश्यले रातिको समयमा निर्माण गर्ने योजना बनाइएको थियो। यसअघि गत चैतमा पनि करिब एक महिनासम्म रातिको समयमा सडक बन्द गरी र दिउँसो एकतर्फी सञ्चालन गरेर करिब अढाई किलोमिटर सडक कालोपत्रे गरिएको थियो।















प्रतिक्रिया दिनुहोस्