काठमाडौं । नेपालमा सार्वजनिक भएको एक सातामै जिडब्लुएमको नयाँ विद्युतीय एसयूभी ओआरए–५ ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत ‘डिजाइन अफ द इयर’ उपाधि जितेको छ।
यससँगै नेपाली अटोमोबाइल बजारमा पनि यो मोडेलप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पूर्ण विद्युतीय मोडेल ओआरए–५ ले उत्पादन डिजाइन–अटोमोबाइलरसवारीसाधन विधामा ‘डिजाइन अफ द इयर’ अवार्ड जित्दै आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टतालाई पुनः प्रमाणित गरेको हो। ‘प्राकृतिक सौन्दर्य’ अवधारणामा आधारित ओआरए–५ को बाह्य डिजाइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको दृष्टिकोणका कारण यसले अन्तर्राष्ट्रिय मान्यता पाएको कम्पनीको भनाइ छ।
ओआरए–५ मा जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्ती जस्ता विशेषता समावेश छन्। यसमा कफी पाइलट अल्ट्रा बुद्धिमान चालक प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, उच्च बलियो स्टिल संरचना, सात वटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँचतारे एएनक्याप र युरो एनक्याप सुरक्षा मूल्याङ्कन प्राप्त सुरक्षा प्रणाली रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ओआरए–५ ले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली, ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, आफैं सानो क्षति मर्मत हुने रंग (सेल्फ–हिलिङ पेन्ट), प्यानोरामिक मुनरुफ तथा प्रिमियम भित्री सजावट जस्ता सुविधा उपलब्ध छन्। यसको प्रारम्भिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नेपालमा सार्वजनिक भएको छोटो समयमै ओआरए –५ ले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको कम्पनीले जनाएको छ।
नेपालका लागि जिडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले निकट भविष्यमै ‘हाभल जोलियन म्याक्स ईभी’ र हाभल एच–७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यी मोडेलको आगमनसँगै जिडब्लुएमको विद्युतीय तथा स्मार्ट एसयूभी सवारीको दायरा नेपालमा थप विस्तार हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जिडब्लुएमको १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थिति रहेको छ। नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्