काठमाडौं। कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीको वित्तीय संस्था ‘डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन’सँग रणनीतिक परियोजना सम्झौता गरेको छ ।
सेवा, प्रक्रिया र रणनीतिक साझेदारीमार्फत दिगो विकासमा प्रतिबद्ध बैंकले वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत उक्त सम्झौता गरेको हो। यो कार्यक्रम जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा एसियाका विभिन्न चयनित देशहरूमा सञ्चालन भइरहेको छ ।
सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् । दिगो बैंकिङका लागि तयार गरिएको दुई चरणको योजनाअनुसार हरित बैंकिङ अभ्यासलाई संस्थागत गर्दै विस्तार गरिने बैंकले जनाएको छ। यो साझेदारीलाई बैंकको दिगो बैंकिङ अभ्यासलाई थप परिपक्व बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको बैंकले जनाएको छ।
कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले साझेदार संस्थाको प्राविधिक सहयोग र नेपालको हरित वित्त वर्गीकरण प्रणालीको मार्गदर्शनमा बैंकिङ प्रक्रियालाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधार गर्दै लैजाने बताए । उनका अनुसार यस सहकार्यले हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो र उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले आफ्ना विशेष प्राविधिक प्रणालीहरू जस्तै वातावरणीय, सामाजिक तथा सुशासन जोखिम पहिचान प्रणाली र दिगो वित्त मार्गदर्शन प्रणाली उपलब्ध गराउनेछ । यसका साथै ग्रामीण क्षेत्र तथा साना तथा मझौला उद्योगहरूको सशक्तीकरण र हरित उद्यम क्षमता विकासका लागि साना तथा मझौला व्यवसाय हरित कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
नेपालका अग्रणी वित्तीय संस्थामध्ये एक कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत यस अभियानलाई विस्तार गर्ने जनाएको छ। ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनबीचको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास तथा स्वच्छ र जलवायु उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ।















प्रतिक्रिया दिनुहोस्