काठमाडौं। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्। दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालनमा आएको हो।
दुवै संस्था १ः१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ। मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ। हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ तथा समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको थियो। एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ।
नयाँ संस्थामा सात सदस्यीय सञ्चालक समिति गठन गरिने भएको छ। समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन्। स्रोतका अनुसार हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ।
यसैबीच, नेपाल राष्ट्र बैंकका अधिकारीले बैंक तथा वित्तीय संस्थाबीचको मर्जरले वित्तीय क्षेत्रलाई थप सबल बनाएको उल्लेख गर्दै अब मर्जरपछिको व्यवस्थापन, प्रविधि तथा सुशासनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालनका अवसरमा संस्थाद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले राष्ट्र बैंकले अघि सारेको मर्जर तथा प्राप्ति नीतिका कारण वित्तीय क्षेत्रमा सुदृढीकरण भएको बताए। उनले बैंक तथा वित्तीय संस्थाहरू एकीकरण प्रक्रियामा सहभागी नभएको भए अहिले बैंकिङ क्षेत्रको अवस्था अझ चुनौतीपूर्ण हुन सक्ने उल्लेख गरे।
‘राष्ट्र बैंकले मर्जर तथा प्राप्तीको नीति लिइसकेपछि धेरै संस्थाहरु मर्जर भएका छन् । यसबाट वित्तीय सिस्टममा फाइनानिसयल कन्सोलिडेसन पनि भएको छ, पौडेलले भने, ‘तत्कालिन र आजको परिस्थितिमा संस्थाको उपस्थिति र हाम्रो अर्थतन्त्रको आकारलाई मूल्यांकन गर्दा राष्ट्र बैंकले लिएको नीति अनुसार आज संस्थाहरु मर्जर वा फाइनानिसयल कन्सोलिडेसन सिस्टममा नगएको भए आजको अवस्था कस्तो हुन सक्थ्यो भनेर हामी अनुमान गर्न सक्छौं ।’
उनले मर्जर संस्थागत चुनौती व्यवस्थापन गर्ने प्रभावकारी माध्यम भएको बताउँदै सञ्चालक समिति र व्यवस्थापनको दूरदर्शी नेतृत्वले कर्मचारी व्यवस्थापनलगायतका समस्याको समाधान गर्न सक्ने धारणा राखे। साथै, निक्षेपकर्ताको बचतको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे। पौडेलले वित्तीय सूचकहरूलाई थप बलियो बनाउँदै कुनै पनि प्रकारका जोखिमसँग सामना गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।
‘कर्मचारी व्यवस्थापनको समस्या पनि कतिपय संस्थाहरुमा आएको गुनासो आए । त्यो पनि संस्थाको सञ्चालक समिति र व्यवस्थापन समुहको दुरदर्शीतामा भर पर्छ । जुन सञ्चालक समिति र व्यवस्थापनले यो विषयलाई दुरदर्शी तरिकाले समाधान गर्यो त्यस्तो संस्थामा हामीले कर्मचारीसँग सम्बन्धित कुनै पनि समस्या देखेका छैनौं’ पौडेलले थप भने,‘ पोखरा फाइनान्स र संमृद्धि फाइनान्स जसरी एक भएको छ, यदी त्यस्ता संकेतहरु आगामी दिनमा आउँछन् भने यसलाई अहिलेबाटै हेरेर समाधान गर्ने दिशामा अगाडी बढ्नुहोस् । कर्मचारीको समस्या पनि समाधान गर्न सकिन्छ । संस्थाले आजको दिनमा कुन परिस्थितिबाट यहाँसम्म आइपुग्यो भनी सम्झेर आगामी दिनमा वित्तीय सूचकहरुलाई बलियो बनाउने र कुनै पनि किसिमका जोखिमहरुसँग संस्था कुनै पनि परिस्थितिमा लड्न सक्षम रहन सक्ने अवस्था बनाउन सक्यो भने दुईबीचको यो मर्जर पनि सफल भएको ठहरिनेछ भने राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनको नीति पनि सफल हुनेछ।’
उनले नेपाल राष्ट्र बैंक नियामक निकायका रूपमा बैंक तथा वित्तीय संस्थाका समस्या समाधान र सहजीकरणका लागि सधैं तत्पर रहेको पनि बताए। त्यसैगरी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विस्रुत थापाले मर्जरपछि संस्था नयाँ जोस र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए। विगतमा केन्द्रीय बैंकसँग मर्जरका विभिन्न अनुभव रहेको उल्लेख गर्दै उनले केही मर्जर सफल उदाहरणका रूपमा स्थापित भएको बताए। उनले नियामक निकायको आवश्यक सहजीकरण अभावमा मर्जर प्रक्रिया नै प्रभावित हुन सक्ने उल्लेख गर्दै राष्ट्र बैंकले वित्तीय क्षेत्रको पुनर्संरचनामार्फत २ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर करिब ५० वटाको हाराहारीमा ल्याएको स्मरण गराए।
थापाले बैंकिङ क्षेत्रमा सूचना प्रविधि (आईटी), कृत्रिम बौद्धिकता (एआई), गैरबैंकिङ सम्पत्ति तथा बढ्दो खराब कर्जाजस्ता नयाँ चुनौतीहरू तीव्र रूपमा देखापरिरहेको उल्लेख गर्दै मर्जरपछिको व्यवस्थापन र संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत औंल्याए।














प्रतिक्रिया दिनुहोस्