काठमाडौं । नेपालमा आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र युवा उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप तथा नवप्रवर्तनलाई विकासको प्रमुख आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका : नयाँ सरकार र चाल्नुपर्ने कदमहरू’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा सहभागी वक्ताहरूले स्टार्टअपमैत्री नीति निर्माण, लगानी वातावरण सुधार तथा सरकार–निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका हुन्।
इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर र स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद्, विकास साझेदार तथा उद्योग क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले कर प्रणालीलाई सरल बनाउने, स्टार्टअपका लागि वित्तीय पहुँच विस्तार गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न सके मुलुकमा रोजगारी सिर्जना हुनुका साथै लगानी आकर्षित गर्न पनि सहज हुने धारणा व्यक्त गरे।
आयोजकका अनुसार कार्यक्रम केवल छलफलमा सीमित नरही सरकारलाई व्यवहारिक तथा कार्यान्वयनयोग्य सुझाव उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रममा उठेका सुझावहरू संकलन गरी सम्बन्धित निकायमा सिफारिसका रूपमा प्रस्तुत गरिने जनाइएको छ।
इन्टरप्रेन्योर्स क्लबका अध्यक्ष तथा स्टार्टअप हब नेपालका संस्थापक डा. शम्भु पोखरेलले नेपालमा उद्यमशीलता र नवप्रवर्तनको वातावरण निर्माण गर्न यस्ता संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले युवालाई उद्यमशीलतामार्फत राष्ट्र निर्माणमा जोड्दै नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, वित्तीय संस्था, शैक्षिक क्षेत्र तथा विकास साझेदारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा समेत जोड दिएका थिए।















प्रतिक्रिया दिनुहोस्