काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास फाइभ’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले सोमबार एक कार्यक्रमबीच कारको प्राइम र प्रिमियम गरी दुई भेरिएन्ट सार्वजनिक गरेको हो।
कम्पनीले प्राइम भेरिएन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। यसअघि कम्पनीले ‘ई मास सेभेन’ नेपाली बजारमा ल्याइसकेको थियो।

ई मास फाइभको प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर र प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यी गाडीले एकपटकको पूर्ण चार्जमा क्रमशः २२५ किलोमिटर र ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छन्।
त्यस्तै, प्राइम भेरिएन्टमा ५८ किलोवाट तथा प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ।

गाडीमा १४.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, एम्बियन्ट लाइट, किलेस इन्ट्री, ६ एयरब्याग, एडास प्रणाली र ३६० डिग्री क्यामेरालगायत सुविधा उपलब्ध छन्।
प्रोटोन ई मास फाइभले मलेसियाको एलायन्स डीएसएफ भेइकल अफ द इयर अवार्ड–२०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ उपाधिसमेत प्राप्त गरिसकेको छ।


















प्रतिक्रिया दिनुहोस्