काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) अनुसार स्थानीय तहबाट प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउन सकिने जनाएको छ।
मन्त्रालयका अनुसार भूमि बैंक सञ्चालनका लागि ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको छ। कार्यविधिअनुसार अब प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गरिनेछ। यससम्बन्धी परिपत्र सबै स्थानीय तहमा पठाइसकिएको मन्त्रालयले जनाएको छ। अब स्थानीय तहले भूमि बैंक स्थापना गरी बाँझो तथा प्रयोगविहीन जग्गाको पहिचान, व्यवस्थापन र उत्पादनमूलक उपयोगका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछन्।
मन्त्रालयले जग्गाधनी तथा सम्बन्धित सरोकारवालालाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकमार्फत उपलब्ध हुने सेवाको लाभ लिन आग्रह गरेको छ। सरकारले भूमि बैंकमार्फत बाँझो जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र जमिनको प्रभावकारी व्यवस्थापन गर्ने लक्ष्य लिएको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्