काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका करिब ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। कार्यस्थलमा भएको कुटपिट, अस्पताल तोडफोड र त्यसपछि प्रशासनले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गरेका छन्।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारी रहेको उनले बताए।
चिकित्सकहरूले मंगलबारदेखि अस्पतालको आकस्मिक सेवा समेत बन्द गरेर आन्दोलन थालेका छन्। स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरे पनि प्रशासनसँगको वार्ता विवादित बनेपछि काममा फर्किन नसक्ने अवस्था आएको चिकित्सकहरूको भनाइ छ।
चिकित्सकहरूका अनुसार आक्रमणमा संलग्न व्यक्तिमाथि कारबाहीको आश्वासन पाएपछि उनीहरू वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए। तर, वार्ताका क्रममा प्रशासनबाट दुर्व्यवहार भएको आरोप लगाउँदै उनीहरूले सुरक्षित वातावरण नभएसम्म सेवा दिन नसकिने बताएका छन्।
डा. सिंहले वार्ताका क्रममा चिकित्सकलाई प्रहरी लगाएर घेरा हालिएको, मोबाइल खोसिएको र केही समय नियन्त्रणमा राखिएको आरोप लगाए। प्रशासनको व्यवहारपछि सामूहिक राजीनामाको निर्णय गर्न बाध्य भएको उनको भनाइ छ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै मंगलबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
गत साउन ८ गते नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
















प्रतिक्रिया दिनुहोस्