Advertisement
Advertisement
Corporate Samachar
१२ श्रावण २०८३, मंगलवार
Advertisement
Advertisement

होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक, उद्योगसरह सुविधा दिन पहल गर्ने पर्यटनमन्त्री पौडेल बाचा

होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक, उद्योगसरह सुविधा दिन पहल गर्ने पर्यटनमन्त्री पौडेल बाचा
विज्ञापन
Advertisement

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले होटल व्यवसायीले उठाएका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौंले सोमबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने दिशामा मन्त्रालयले आवश्यक नीतिगत तयारी गरिरहेको जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री पौडेलले सरकार अहिले निजी क्षेत्रसँग संवाद, सहकार्य र समस्या समाधानको नीति लिएर अघि बढिरहेको स्पष्ट पार्दै व्यवसायीमाथि निर्णय थोपर्ने होइन, उनीहरूको कुरा सुनेर समाधान खोज्ने पक्षमा सरकार रहेको बताए। उनले पर्यटन उद्योगको दिगो विकासका लागि निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको पनि उल्लेख गरे।

होटल व्यवसाय पर्यटन उद्योगको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले होटललाई उद्योगसरह सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिए। सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने वातावरण निर्माण, मन्त्रालयमार्फत उपलब्ध गराउन सकिने अनुदानका कार्यक्रम तथा पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने नीतिगत सुधारका विषयमा छलफल भइरहेको उनको भनाइ थियो।

होटल क्षेत्रमा प्रयोग हुने विद्युत्मा लाग्ने कर हटाउने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिँदै मन्त्री पौडेलले कर, लगानी र सञ्चालनसँग सम्बन्धित नीतिगत सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताए।

उनले होटल व्यवसायीलाई पर्यटन विभागमा अनिवार्य दर्ता भई सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरे। होटल क्षेत्रलाई थप व्यवस्थित बनाउन व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै उनले आफू उद्योगी वा व्यवसायी कुन हैसियतमा सरकारसँग प्रस्तुत हुने भन्ने विषयमा एकीकृत धारणा बनाएर सुझाव दिनुपर्ने आवश्यकता औँल्याए।

यसअघि जिल्ला होटल व्यवसायी संघ काठमाडौंले पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवस्थापकीय सुधारको माग राख्दै मन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

संघका सचिवालय सदस्य खेमराज उप्रेतीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट होटलहरूमा भइरहेको अनुगमन छापामार शैलीको भएको भन्दै त्यसले व्यवसायीमा त्रास सिर्जना गरेको बताए। होटल वस्तु बिक्री गर्ने क्षेत्र नभई सेवा उद्योग भएकाले अनुगमनको प्रकृति पनि सोहीअनुसार हुनुपर्ने उनको भनाइ थियो।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक, विशेषगरी हरियो नम्बर प्लेटका ट्याक्सीबाट ठगी र विभिन्न किसिमका हैरानीमा पर्ने गरेको विषय पनि मन्त्रीसमक्ष उठाए। विमानस्थलको ट्याक्सी व्यवस्थापन, यात्रु सहायता प्रणाली र पर्यटक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको उनले बताए।

संघका अध्यक्ष सुरेश बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वर्षौंदेखि देखिएको अव्यवस्थाका कारण विदेशी पर्यटकले नेपाल प्रवेशसँगै नकारात्मक अनुभव बटुल्न बाध्य भएको बताए। तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रवृत्ति, यात्रुले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था तथा स्थलमार्गबाट आउने भारतीय पर्यटक बोकेका बसलाई सामान्य रोक्दा पनि ‘ह्वील लक’ लगाइने अभ्यास अन्त्य गर्न उनले सरकारसँग आग्रह गरे।

उनका अनुसार विमानस्थल नै विदेशी पर्यटकले नेपालबारे बनाउने पहिलो छाप भएकाले त्यहाँको व्यवस्थापन सुधार पर्यटन प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण छ।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा होटल व्यवसायमा एमआरपी लागू नगर्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी तथा यात्रु व्यवस्थापन सुधार गर्न, साना तथा भाडामा सञ्चालन भएका होटलहरूको वातावरणीय प्रक्रिया सरल बनाउन तथा होटल–रेष्टुरेन्ट सञ्चालन समय कम्तीमा राति १२ बजेसम्म कायम गर्नुपर्ने गरी चारबुँदे माग समेटिएको छ।

अध्यक्ष बरालले सरकारसँग सहकार्य गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित, लगानीमैत्री र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरे।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा संघका अध्यक्ष सुरेश बराल, उपाध्यक्ष मनोहरी कँडेल, उपाध्यक्ष जितेन्द्र गिरी, उपाध्यक्ष कुमार श्रेष्ठ, कार्यवाहक महासचिव शिवलाल गिरी, लेखा समिति संयोजक श्याम चौलागाईं, सचिवालय सदस्य खेमराज उप्रेती, सल्लाहकार पी.के। शेर्पालगायत पदाधिकारी सहभागी थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit