काठमाडौं । एनएमबी बैंकले दोलखा र रामेछापमा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। यससम्बन्धी ऋण लगानी सम्झौता मंगलबार सम्पन्न भएको हो।
वन्डर्स इनर्जी लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि भएको सम्झौतामा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा वन्डर्स इनर्जीका प्रबन्ध निर्देशक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्।
आयोजना दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ को सिमानाबाट बग्ने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको छ। आयोजनाको निर्माण कार्य २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
प्रवर्द्धकका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गते मन्त्रिपरिषद्को निर्णयबाट प्राप्त भइसकेको छ। साथै, आवश्यक निजी जग्गा खरिद, निर्माणका लागि विद्युत् जडान, पहुँचमार्ग, गोदाम तथा आवास गृह निर्माणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्।
सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणसम्बन्धी ठेक्का सम्झौतासमेत भइसकेको र हालसम्म आयोजनाको करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको कम्पनीले जनाएको छ।
आयोजनाको कुल लागत करिब १ अर्ब ८० करोड रुपैयाँ अनुमान गरिएको छ। त्यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋणमार्फत व्यवस्थापन गर्न एनएमबी बैंकसँग सम्झौता भएको हो। बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ स्वपुँजी व्यवस्थापन भइसकेको तथा बाँकी रकम आगामी असोजभित्र जुटाउने प्रक्रिया अघि बढाइएको प्रबन्ध निर्देशक प्रकाश चन्द्र दुलालले जानकारी दिए।
गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यस आयोजनाले सामाजिक तथा वातावरणीय मापदण्डलाई विशेष प्राथमिकता दिएको कम्पनीको दाबी छ। ‘हाइड्रो सेलेक्ट टुल’ प्रयोग गरी अन्तर्राष्ट्रिय सामाजिक तथा वातावरणीय मापदण्डअनुसार निर्माण गरिने नेपालका निर्माणाधीन जलविद्युत् आयोजनामध्ये यो पहिलो आयोजना हुने कम्पनीले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्