काठमाडौं। माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा तथा प्रतिशेयर आम्दानीमा ठूलो सुधार आएको देखिएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद नाफा ४१४.८० प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको विद्युत बिक्री आम्दानीमा समेत ठूलो वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा २० करोड ४७ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षमा २८८.२६ प्रतिशतले बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ७९ करोड २९ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७३ करोड ३२ लाख रुपैयाँबाट बढेर ६९ करोड ५ लाख रुपैयाँ कायम भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा माण्डु हाइड्रोपावरको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा पनि सुधार आएको छ। अघिल्लो वर्ष ५३ करोड ९३ लाख रुपैयाँ रहेको जगेडा कोष बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्ति ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँबाट बढेर ५ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। ललितपुर र मकवानपुरको सिमानामा सञ्चालित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना २०८१ असोजमा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त भएको थियो। उक्त आयोजनाको पुनर्निर्माण सम्पन्न भई अहिले पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ।
कम्पनीले थप १० मेगावाट क्षमता वृद्धि गरी कुल ३२ मेगावाट क्षमताको आयोजनाका लागि विद्युत खरिद सम्झौता (पीपीए) तथा सञ्चालन अनुमति पत्र समेत प्राप्त गरिसकेको जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित आयोजनाको शीघ्र पुनरुत्थान, क्षमता विस्तार गरी ३२ मेगावाट कायम गर्नु र नाफामा ४०० प्रतिशतभन्दा बढीको वृद्धि हुनुले माण्डु हाइड्रोपावरको वित्तीय अवस्था थप मजबुत बनेको देखिन्छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत उल्लेख्य बढेको छ। अघिल्लो अवधिमा ४ रुपैयाँ ५४ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर २३ रुपैयाँ ३६ पैसा पुगेको छ। साथै, कम्पनीले १० प्रतिशत बोनस शेयर घोषणा गरेसँगै शेयरधनीहरूमा कम्पनीप्रतिको आकर्षण थप बढ्ने आकलन कम्पनीको छ।
















प्रतिक्रिया दिनुहोस्