Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

एफडीआईमा नेपाल किन पछाडि ? लगानीकर्ताले औँल्याए विश्वासको संकट

एफडीआईमा नेपाल किन पछाडि ? लगानीकर्ताले औँल्याए विश्वासको संकट
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रूपमा भित्रिन नसक्नुको समस्या पुँजीको अभावभन्दा बढी नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानीकर्ताको कमजोर विश्वाससँग जोडिएको सरोकारवालाहरूले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबारदेखि जारी नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ को पहिलो छलफल सेसनमा बुधबार बक्ताहरुको प्रस्तुत धारणा र तथ्यांकले नेपालमा एफडीआई आकर्षित गर्ने बहसलाई नयाँ ढंगले हेर्नुपर्ने देखाएको छ।कार्यक्रममा सहभागी नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र, विदेशी लगानीकर्ता र निजी क्षेत्रका प्रतिनिधिहरूले विदेशी लगानी ल्याउने वातावरण बनाउनुअघि स्वदेशी लगानीकर्ताको मनोबल र विश्वास फर्काउनुपर्नेमा जोड दिए।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाका अनुसार अघिल्लो वर्ष नेपालमा करिब १२ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको थियो। तर त्यसमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांशका रूपमा बाहिरिएको छ। राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा एफडीआईको कुल मौज्दात करिब ३४० अर्ब रुपैयाँ पुगेको छ। नेपालमा आएको विदेशी लगानीमा भारतको हिस्सा सबैभन्दा ठूलो छ। कुल एफडीआई मौज्दातमा भारतको हिस्सा करिब ५६–५७ प्रतिशत रहेको तिमिल्सिनाले बताए। त्यसपछि चीन, आयरल्यान्ड, अष्ट्रेलिया र सिङ्गापुरलगायतका मुलुक छन्। क्षेत्रगत रूपमा उत्पादनमूलक उद्योग, जलविद्युत् तथा बैंक तथा वित्तीय संस्थाले एफडीआईको करिब ८० प्रतिशत हिस्सा ओगटेका छन्।

तर, एफडीआईको आकारलाई मात्र हेरेर नेपालको अवस्था बुझ्न नसकिने तिमिल्सिनाको तर्क छ। उनका अनुसार एफडीआईसँगै पुँजी मात्र नभई प्रविधि, व्यवस्थापन क्षमता, सुशासन र अन्तर्राष्ट्रिय व्यावसायिक अभ्यास पनि भित्रिन्छन्। त्यसैले एफडीआईलाई केवल रकमको रूपमा नभई अर्थतन्त्रको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता बढाउने माध्यमका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।विश्वव्यापी तुलनाले भने नेपालको कमजोरी अझ स्पष्ट देखाउँछ। विश्व बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष विश्वभर एफडीआई इन्फ्लो ८४७.८ बिलियन अमेरिकी डलर थियो, जुन विश्वव्यापी जीडीपीको करिब ०.७५ प्रतिशत हो। त्यही अवधिमा नेपालको एफडीआई इन्फ्लो ७३.८ मिलियन डलर अर्थात् जीडीपीको करिब ०.१८ प्रतिशत मात्र रहेको तिमिल्सिनाले बताए।

दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा पनि नेपाल पछाडि देखिन्छ। भारतमा २८ बिलियन डलर, पाकिस्तानमा २ बिलियन डलर, बंगलादेशमा १.३८ बिलियन डलर र श्रीलंकामा ७११ मिलियन डलर एफडीआई आएको तथ्यांक प्रस्तुत गर्दै तिमिल्सिनाले नेपालको अवस्था सुधार गर्नुपर्ने बताए। तर नेपालमा समस्या लगानीकर्ताले पैसा ल्याउन नसक्ने मात्र होइन, ल्याएको पैसा व्यवस्थापन गर्न र आवश्यक पर्दा बाहिर लैजानसमेत कठिन हुने अवस्था रहेको विदेशी लगानीकर्ताको अनुभवले देखाएको छ। नेपालमा लामो समयदेखि लगानी गर्दै आएको डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचरले नेपालमा पैसा भित्र्याउनभन्दा पनि लगानीको प्रतिफल वा मूलधन फिर्ता लैजान झन् कठिन रहेको बताए। उनका अनुसार झन्झटिलो प्रशासनिक प्रक्रिया र नीतिगत अस्थिरताले अन्तर्राष्ट्रिय लगानीकर्तालाई निरुत्साहित गरिरहेको छ।

गोचरको अनुभवमा करसम्बन्धी विषयमा आवश्यक ट्याक्स नम्बर प्राप्त गर्न चार महिनासम्म लागेको थियो। लगानी गरेको कम्पनी बिक्री गरेर रकम फिर्ता लैजान खोज्दासमेत विभिन्न कागजी प्रक्रिया र बोर्ड बैठकका निर्णय आवश्यक पर्ने गरेको उनले बताए। उनको भनाइले नेपालको लगानी वातावरणमा देखिएको एउटा आधारभूत कमजोरी उजागर गर्छ-लगानीकर्तालाई प्रवेशका लागि आकर्षित गर्ने नीति मात्र पर्याप्त हुँदैन, लगानीको सम्पूर्ण जीवनचक्र सहज बनाउनुपर्ने हुन्छ। लगानी स्वीकृतिदेखि कम्पनी सञ्चालन, कर प्रशासन, लाभांश फिर्ता, शेयर बिक्री र लगानीको निकाससम्मको प्रक्रिया सहज नभएसम्म नेपालले ठूलो परिमाणमा दीर्घकालीन विदेशी पुँजी आकर्षित गर्न नसक्ने संकेत गोचरको अनुभवले गर्छ।

विदेशी लगानीअघि स्वदेशी लगानीकर्ताको विश्वास बढाउनुपर्छ 

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले नेपालको समस्या विदेशी पुँजीको अभाव मात्र नभई आन्तरिक लगानीको माग र व्यवसायीको विश्वासमा आएको कमी भएको बताए। उनका अनुसार बैंकिङ प्रणालीमा करिब साढे १३ देखि १४ खर्ब रुपैयाँ बराबरको निक्षेप सरप्लस छ। ब्याजदर एकल अंकमा झरे पनि कर्जाको माग बढ्न सकेको छैन। असार मसान्तयता मात्रै बैंकिङ क्षेत्रमा कर्जा प्रवाह करिब ३० अर्ब रुपैयाँले घटेको उनले जानकारी दिए। यसले नेपालको अर्थतन्त्रमा अर्को विरोधाभास देखाउँछ-बैंकमा लगानीयोग्य स्रोत छ, तर लगानी गर्ने आत्मविश्वास र परियोजनाको माग कमजोर छ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणमार्फत बैंकिङ प्रणालीलाई राहत दिए पनि समस्या केवल तरलताको नभएको ज्ञवालीको भनाइ छ। वास्तविक समस्या अर्थतन्त्रमा माग, व्यवसायिक वातावरण र निजी क्षेत्रको विश्वाससँग जोडिएको उनको निष्कर्ष छ। व्यवसायीको मनोबल बढाउन सरकारले वित्तीय अपराध र सामान्य व्यावसायिक गल्तीलाई फरक ढंगले हेर्नुपर्ने उनले बताए। नियतवश गरिएको वित्तीय अपराधमा कडा कारबाही हुनुपर्ने तर व्यावसायिक निर्णय वा गल्तीलाई आपराधिक गतिविधिसँग समान व्यवहार गर्दा उद्यमशीलता निरुत्साहित हुने उनको तर्क छ।

निजी क्षेत्र र सरकारबीच विश्वासको खाडल नै समस्या 

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले पनि नेपालको लगानी वातावरणको मुख्य समस्या विश्वासको संकट भएको बताइन्। सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने र निजी क्षेत्रले सरकारलाई विश्वास नगर्ने अवस्था बनेमा लगानी विस्तार हुन नसक्ने उनको भनाइ छ। लगानीकर्तालाई शंकाको दृष्टिले हेर्नेभन्दा स्वागत गर्ने संस्कृति र स्पष्ट कानुनी वातावरण आवश्यक रहेको उनको भनाइ थियो । यसले एफडीआईको बहसलाई एउटा महत्वपूर्ण बिन्दुतर्फ लैजान्छ। विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्ने निर्णय गर्दा बजारको सम्भावना मात्र हेर्दैनन्स सरकारको विश्वसनीयता, कानुनको स्थायित्व, नीतिको निरन्तरता र लगानी फिर्ता लैजान सकिने सुनिश्चितता पनि हेर्छन्। त्यसैले लगानीकर्तालाई ‘रेड कार्पेट’ बिछ्याउने भनाइ व्यवहारमा अनुमतिपत्र र कर छुटमा मात्र सीमित हुनुहुँदैन। लगानीकर्ताले सरकारी निकायबीच समन्वय खोज्दै महिनौँ बिताउन नपर्ने, नियम परिवर्तन हुँदा पूर्वानुमान गर्न सक्ने र लगानीको निकास पनि सहज हुने प्रणाली आवश्यक छ।

नेपालले सबै क्षेत्रमा होइन, तुलनात्मक लाभमा लगानी खोज्नुपर्छ : नाइमा अध्यक्ष वैद्य 

अध्यक्ष वैद्यले नेपालले ठूला अर्थतन्त्र भारत र चीनबीच रहेको आफ्नो भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सबै क्षेत्रमा एकैपटक प्रतिस्पर्धा गर्नुभन्दा तुलनात्मक लाभ भएका क्षेत्रमा केन्द्रित हुनुपर्ने बताइन्।विशेषगरी सूचना प्रविधि, पर्यटन, उच्च मूल्यका कृषि उत्पादन र जलविद्युत्मा आधारित नयाँ उद्योग नेपालका लागि सम्भावनायुक्त क्षेत्र हुन सक्ने उनको धारणा छ। ठूला उत्पादनमूलक उद्योगमा आवश्यक ‘इकोनोमी अफ स्केल’ हासिल गर्न सीमित श्रमशक्ति र सानो बजारका कारण चुनौती हुने भन्दै उनले उच्च मूल्य र कम भौतिक दूरी आवश्यक पर्ने क्षेत्रमा नेपालले आफ्नो प्रतिस्पर्धात्मक लाभ खोज्नुपर्ने बताइन्। आईटी क्षेत्रलाई उनले नेपालका लागि विशेष अवसरका रूपमा प्रस्तुत गरिन्। यस क्षेत्रमा दक्ष जनशक्ति विकास भइरहेको र यसले रोजगारी सिर्जना मात्र नभई युवालाई उद्यमी बन्ने अवसरसमेत दिने उनको भनाइ छ।

पर्यटनमा पनि पूर्वाधार विकासमार्फत ठूलो रोजगारी र विदेशी मुद्रा आम्दानी बढाउन सकिने उनको तर्क छ। कृषिमा परम्परागत बालीभन्दा उच्च मूल्यका उत्पादनतर्फ जानुपर्ने र कम जमिनबाट बढी आम्दानी हुने कृषि प्रणाली विकास गर्नुपर्ने उनले बताइन्।

बिजुली बेच्नेभन्दा बिजुलीबाट उद्योग बनाउने बहस

जलविद्युत्मा पनि नेपालले केवल बिजुली निर्यात गरेर मात्र ठूलो आर्थिक लाभ लिनेतिर भन्दा स्वदेशी उद्योगमै विद्युत खपथ बढाउनुपर्ने अध्यक्ष वैद्यको धारणा छ। नेपालले जलविद्युत्को उपलब्धतालाई ग्रीन हाइड्रोजन, अमोनिया तथा ऊर्जा–आधारित उद्योग विकासमा प्रयोग गर्न सके सिमेन्ट, स्टिललगायतका उद्योगलाई डिकार्बोनाइज गर्न सकिने उनको भनाइ छ। यसले एफडीआईका लागि पनि नयाँ अवसर सिर्जना गर्न सक्छ। नेपालले जलविद्युत्लाई कच्चा वस्तुजस्तो निर्यात गर्नेभन्दा त्यसमा आधारित उच्च मूल्यका उद्योग विकास गर्न सके विदेशी लगानीलाई उत्पादन, प्रविधि र रोजगारीसँग जोड्न सकिने सम्भावना रहन्छ।

अब एफडीआईको लक्ष्य रकम होइन, वातावरण हुनुपर्ने

नाइमा संवादबाट देखिएको मुख्य निष्कर्ष नेपालमा एफडीआई नआउनुको कारण केवल विदेशी लगानीकर्ताको रुचि कमजोर हुनु होइन। नेपालभित्रै लगानी गर्ने वातावरण कमजोर हुनु, नीतिगत अनिश्चितता, प्रशासनिक झन्झट र लगानीको निकासमा समस्या हुनु मुख्य अवरोधका रूपमा वक्ताहरुले देखाएका छन्। त्यसैले सरकारले एफडीआई बढाउने लक्ष्यलाई केवल ‘कति अर्ब रुपैयाँ भित्र्याउने’ भन्ने संख्यात्मक दृष्टिकोणबाट हेर्नुभन्दा लगानीकर्ताले नेपाललाई कति विश्वसनीय गन्तव्यका रूपमा हेर्छन् भन्ने प्रश्नबाट मूल्यांकन गर्नुपर्ने आवश्यकता देखिन्छ। पहिलो चरणमा आन्तरिक लगानीकर्ताको विश्वास फर्काउने, दोस्रो चरणमा प्रशासनिक प्रक्रिया डिजिटल र एकीकृत बनाउने, तेस्रो चरणमा लगानी र प्रतिफल फिर्ता लैजाने प्रक्रिया स्पष्ट गर्ने तथा चौथो चरणमा नेपालका तुलनात्मक लाभका क्षेत्रमा लक्षित विदेशी लगानी भित्र्याउने रणनीतिको आवश्यकता देखिन्छ।

विदेशी लगानी आकर्षित गर्न नेपालले पुँजी खोज्ने मात्र होइन, विश्वास निर्माण गर्ने नीति लिनुपर्ने अवस्था छ। लगानीकर्ताले नेपालमा पैसा ल्याउन सक्छन् कि सक्दैनन् भन्नेभन्दा पनि पैसा ल्याएपछि सुरक्षित रूपमा व्यवसाय गर्न, प्रतिफल प्राप्त गर्न र आवश्यक पर्दा लगानी फिर्ता लैजान सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको जवाफ नै नेपालको आगामी एफडीआई नीतिको वास्तविक परीक्षा बन्ने देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit