काठमाडौं। तीन दिनदेखि हराइरहेकी बारा, जीतपुरसिमरा–१ भक्तिनगर टोलकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति सांसदहरूले गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अरविन्द शाह र रहबर अन्सारीले घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै सुरक्षा संयन्त्रको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका हुन् । सांसद शाहले बालबालिका हराउने र हत्या हुने घटना बढिरहेकाले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन तथा जोखिमयुक्त क्षेत्रमा सीसीटीभीलगायतका पूर्वाधार विस्तार गर्न माग गरे ।
‘अवोध बालिका दुई दिनदेखि हराएर तेस्रो दिन मृत भेटिनुभयो,’ शाहले भने, ‘अहिले प्रहरीले दोषीलाई समातेको छ, कारबाही पनि होला तर साना देखि ठूला बच्चीहरूको जसरी विभिन्न बहानामा मृत्यु भइरहेको छ, सुरक्षा संयन्त्रले काम गर्न सकिरहेको छैन।’ यस्तै, सांसद रहबर अन्सारीले बालिका हराएको सूचना पाएपछि पनि तत्काल प्रहरी परिचालन नभएको उल्लेख गर्दै घटनामा प्रहरीको लापरवाही भए जिम्मेवार अधिकारीमाथि कारबाही गर्नुपर्ने बताए । ‘बालिका हराएको जानकारी प्रहरीलाई गराएको २४ घण्टासम्म पनि कुनै प्रहरी परिचालन भएको छैन,’ अन्सारीले भने, ‘छिमेकीले ७२ घण्टापछि थाहा पाएर सूचना दिएपछि मात्र प्रहरी कुकुर लिएर गएको छ। ती इलाकाका प्रहरीलाई तानेर हुन्छ कि कारबाही गर्नुपर्छ ।’
यस्तै, उनले गम्भीर घटनामा प्रहरीले सूचना प्राप्त भएको एक, दुई, छ र १२ घण्टामा के–के काम गर्यो भन्ने स्पष्ट हुने गरी प्रहरीको ‘एक्सन लक’ नै माग गरेका छन् । ‘जीतपुर सिमरा–१ लापर्वाही र लेनदेनको केन्द्रविन्दु बनेको छ। मैले पटक पटक यो विषयलाई उठाएको छु । आज दुई जना नालायक प्रहरी अफिसरको कारणले बालिकाको बलात्कारपश्चात हत्या भएको छ । जुन दिन यो घटना भयो बालिका हराएको जानकारी प्रहरीलाई गराएको २४ घण्टासम्मपनि कुनै प्रहरी परिचालन भएको छैनन्,’ अन्सारीले भने, ‘प्रहरीको एक्सन लक थाहा हुनुपर्यो । एक घण्टामा प्रहरीले के गर्यो, दुई घण्टामा के गर्यो ६ घण्टामा के गर्यो १२ घण्टामा के गर्यो । यस्ता गम्भीर घटनामा प्रहरीले के गर्यो सबैलाई थाहा हुनुपर्यो ।’
अन्सारीले जीतपुरसिमरा–१ मा भएको घटना गम्भीर भएको भन्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा गम्भीर बन्नुपर्ने बताए । मृतक बालिका गरिमा गत साउन ३१ गते घरबाटै हराएकी थिइन् । उनको शव मंगलबार साँझ फेला परेको थियो । स्थानीय सरस्वती प्राथमिक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत बालिका हराएपछि परिवारले प्रहरीमा जानकारी गराएका थिए। तीन दिनपछि शव फेला परेपछि घटनाको विरोधमा स्थानीयले बुधबार दिउँसोदेखि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत त्रिभुवन राजपथ अवरुद्ध गर्दै दोषीलाई कडा कारबाही र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको जनाएको छ।
प्रहरीले बलात्कारपछि हत्या आरोपमा जीतपुरसिमरा–२ का १७ वर्षीय किशोर सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीसहितलाई पक्राउ गरेको जनाएको छ । थापा म्याजिक सवारीका सहचालक र चौधरी उक्त सवारीका धनी रहेको प्रहरीले जनाएको छ । बालिकाको शव अझै कलैया प्रादेशिक अस्पतालमै रहेको छ । आकस्मिक सँगै शून्य समयमा बोल्ने सांसदहरुले पनि घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
















प्रतिक्रिया दिनुहोस्