सुर्खेत । सडक डिभिजन कार्यालय सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गको सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायतका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ।
कार्यालयका अनुसार सार्वजनिक सडक ऐन, २०३१ विपरीत सडक अतिक्रमण गरेर बनाइएका संरचनाका कारण यातायात सञ्चालन तथा सडक सुरक्षामा समस्या उत्पन्न भएकाले सम्बन्धित पक्षलाई तोकिएको अवधिभित्र आफैँ संरचना हटाउन भनिएको हो ।
यो निर्देशन भेरी करिडोर (छिन्चु–छेडा सडक), कर्णाली राजमार्ग अन्तर्गत हर्रे–बाङ्गेसिमल र बाङ्गेसिमल–दहीखोला खण्ड, मध्यपहाडी राजमार्ग अन्तर्गत सुयाडा–साइखोला सडक, बाटोचौर–काल्चे सडक तथा सुर्खेत–दैलेख–महावु सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा लागू हुने कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय सुर्खेतका डिभिजन प्रमुख इन्जिनियर विवशबाबु सदादेवका अनुसार तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने कार्यालयले प्रचलित कानुनअनुसार संरचना हटाउनेछ। त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उनले बताए।















प्रतिक्रिया दिनुहोस्