काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्स (विप्रेषण) ले नेपालको वार्षिक बजेटको आकारलाई उछिनेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार एक वर्षमा नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
यो रकम सरकारले गत आर्थिक वर्ष कार्यान्वयन गरेको १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटभन्दा करिब ४ खर्ब रुपैयाँ बढी हो । रेमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार गत असारमा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। तर, रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा भने कमी आएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो संख्या ५ लाख ५ हजार ९५७ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या गत आर्थिक वर्ष ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ३३ हजार ३०९ थियो । यसरी वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिकको संख्या घटेको अवस्थामा पनि रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

















प्रतिक्रिया दिनुहोस्