काठमाडौं । भदौ १० गतेको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा नेपाल टेलिकमका १५२ दूरसञ्चार साइट प्रभावित भएका छन् । तीमध्ये ९२ साइट सञ्चालनमा आइसकेका छन् भने ६० साइट अझै सञ्चालनमा आउन बाँकी छन् ।
नेपाल टेलिकमले प्रभावित क्षेत्रमा सेवा सुचारु गर्न आवश्यक मर्मतसम्भारसँगै जेनेरेटर, इन्धन, ब्याट्री तथा अन्य उपकरणसहित कर्मचारी परिचालन गरेको जनाएको छ । रसुवाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत उपकरण पठाएर आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा सेवा सुचारु गरिएको छ । धुन्चेमा सेवा सञ्चालनका लागि समेत जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ । नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा आउन बाँकी छन् । यसैगरी, सञ्चालनमा रहेका अन्य बीटीएसको कभरेज र क्षमता सुधार तथा अनुकूलनको कामसमेत भइरहेको छ । बाँकी साइट सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक कार्य जारी रहेको नेपाल टेलिकमले जनाएको छ । विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको टेलिकमको भनाइ छ । यसबाट प्रभावित नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।














प्रतिक्रिया दिनुहोस्