काठमाडौं। बाढीका कारण धादिङ, चितवन र रुकुम पश्चिमका तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पृथ्वी राजमार्ग, मुग्लिन–नागढुंगा सडकखण्ड र जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला, गजुरी गाउँपालिका–२ बिहानी पम्प, गजुरी–५ गलौंदी, गजुरी–६ दरस्रेकेत तथा बाङ्गेमोड र गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो।
त्यस्तै, चितवनको मुग्लिन–नागढुंगा सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्गमा आवागमन प्रभावित भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा पनि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। आठबिसकोट नगरपालिका–६ स्थित रिमझिगाउँ खोलामा आएको बाढीका कारण सडकखण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा तत्काल यातायात सञ्चालनको अवस्था नरहेको र थप सूचना प्राप्त नभएसम्म यात्रामा सावधानी अपनाउनुपर्ने अवस्था छ।














प्रतिक्रिया दिनुहोस्