B भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनःस्थापनामा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले उल्लेख्य सहयोग उपलब्ध गराउन थालेका छन्।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको उद्धार, राहत सामग्री व्यवस्थापन, सुरुङमा फसेकाको खोज तथा उद्धार र मृतकको पहिचानका लागि छिमेकी मुलुकले जनशक्ति तथा प्राविधिक सहयोग उपलब्ध गराएका छन् भने विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा मुलुकले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक, पुल, आवासीय क्षेत्र, जलविद्युत् आयोजना तथा अन्य अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित राज्यका विभिन्न संयन्त्र उद्धार तथा राहत कार्यमा परिचालित छन्।
भारतको सहयोग : ५७.५ टन राहत सामग्री र विशेषज्ञ टोली
भारतले बाढी प्रभावित नेपालका लागि विभिन्न चरणमा करिब ५७ दशमलव ५ टन राहत सामग्री उपलब्ध गराइसकेको छ। भारतीय वायुसेनाका विमानमार्फत ती सामग्री नेपाल ल्याइएको हो।
भारतबाट आज बिहान आएको चौथो चरणको उडानमा ११ टन राहत सामग्री नेपाल आइपुगेको छ। उक्त सामग्रीमा खोज तथा उद्धारका लागि आवश्यक उपकरण, सुरुङ उद्धार प्राविधिक टोली, मृतकको पहिचानका लागि डीएनए विश्लेषण गर्ने फरेन्सिक विज्ञ, कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटलगायत सामग्री छन्।
स्थलगत निरीक्षण टोलीको मूल्याङ्कनका आधारमा भारतले १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली नेपाल पठाएको छ। टोली विशेष उपकरणसहित प्रभावित क्षेत्रमा पुगेर नेपाली विपद् प्रतिकार्य टोलीसँग समन्वय गरी सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा सहयोग गरिरहेको छ।
त्यसैगरी, मृतकका अवशेष पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्न छ वटा फरेन्सिक टोलीका १९ सदस्य नेपाल आएका छन्।
भारतले बाढी आएको बुधबार नै पहिलो चरणमा १० टन आकस्मिक राहत सामग्री नेपाल ल्याएको थियो। त्यसमा अस्थायी आश्रयस्थलका सामग्री, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधि थिए।
बिहीबार भारतले थप ३७ दशमलव ५ टन राहत सामग्री पठाएको थियो। उक्त सामग्रीमा पाल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर सेट, औषधि तथा खाद्य सामग्री थिए।
शुक्रबार भारतले पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र छ सदस्यीय चिकित्सा टोली नेपाल पठाएको थियो। सोही चरणमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्य सामग्री, पानी शुद्धीकरणका ट्याब्लेट तथा औषधिसहित थप १० टन राहत सामग्री उपलब्ध गराइएको थियो।
यसरी भारतको सहयोगमा राहत सामग्रीसँगै सुरुङ उद्धार, चिकित्सा सेवा र फरेन्सिक पहिचानका लागि विशेषज्ञ जनशक्ति समेत परिचालित भएको छ।
चीनबाट ५० टन राहत सामग्री, सुरुङ उद्धार विशेषज्ञ पनि
चीनले पनि भोटेकोशी बाढी प्रभावित नेपालका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आज बिहान चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमान चीनद्वारा प्रदान गरिएको राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। ती विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि उद्धार उपकरणसहित नेपाल आएका छन्।
चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्।
चीनबाट ल्याइएका राहत सामग्रीमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार २०० थान आपत्कालीन सामग्री रहेका छन्।
चिनियाँ विशेषज्ञ टोलीले पनि नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीसँग समन्वय गरी प्रभावित जलविद्युत् आयोजना तथा सुरुङ क्षेत्रमा फसेकाको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेको छ।
भारत र चीनका सुरुङ उद्धार टोली नेपाली सेनासँगै मैदानमा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कतिपय जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको सूचना आएपछि भारत र चीनबाट आएका सुरुङ उद्धार विशेषज्ञ अहिले नेपाली उद्धार टोलीसँगै परिचालित छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियानमा दुवै देशका विशेषज्ञले आवश्यक प्राविधिक सहयोग गरिरहेका छन्।
पछिल्लो विवरणअनुसार शनिबार साँझसम्म प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। तीमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ। बाँकी क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्।
आर्थिक पुनःस्थापनामा पनि अन्तर्राष्ट्रिय सहयोग
उद्धार तथा तत्कालीन राहतसँगै बाढी प्रभावितको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक सहयोगको प्रतिबद्धता पनि आएको छ।
उपलब्ध विवरणअनुसार विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिबद्ध सहयोग यसप्रकार छ :

यसरी तत्काल राहतदेखि दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणसम्मका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग जुट्न थालेको छ।
६७५ शव फेला, पहिचान र व्यवस्थापनको काम जारी
भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट ६७५ वटा शव फेला परिसकेको छ।
फेला परेका शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न ‘एयरटाइट ब्याग’ प्रयोग भइरहेको छ। सरकारले ‘पहिचान नभएका तथा शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ।
पहिचान हुन नसकेका शवको हकमा भविष्यमा पहिचान गर्न सकिने गरी डीएनए नमुनालगायत आवश्यक प्रमाण सुरक्षित राखेर व्यवस्थापन गरिनेछ। परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने प्रक्रिया भइरहेको छ।
भोटेकोशी बाढीले नेपालमा निम्त्याएको विपद् ठूलो मानवीय संकटका रूपमा देखिएको बेला छिमेकी भारत र चीनको प्रत्यक्ष उद्धार तथा प्राविधिक सहयोगसँगै विश्व बैंक, एशियाली विकास बैंक, अमेरिका र अष्ट्रेलियालगायतको आर्थिक सहयोगले तत्काल उद्धारदेखि दीर्घकालीन पुनःस्थापनासम्म अन्तर्राष्ट्रिय समुदायको साथ थप बलियो बनाएको छ।















प्रतिक्रिया दिनुहोस्