पोखरा। पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनको २६औँ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले मेटल फेब्रिकेटर्स व्यवसायीलाई संगठित, व्यवस्थित र मर्यादित ढंगले उद्योग सञ्चालन गर्न आग्रह गरे।
सो अवसरमा कटुवालले पोखरा स्टील फेब्रिकेटर्स एसोसिएसनले सञ्चालनमा ल्याउन लागेको डिजिटल प्लेटफर्म तथा वेबसाइटको सुरुवात समेत गरे। उनले समयअनुकूल व्यवसायलाई डिजिटल प्रणालीमा लैजानु आवश्यक रहेको बताए। वेबसाइटमार्फत ग्रिलजन्य वस्तुको निर्माण, डिजाइन, गुणस्तर तथा बजार मूल्यबारे उपभोक्तालाई जानकारी दिन सकिने उनले बताए। साथै, कच्चा पदार्थको बजार मूल्यमा हुने परिवर्तनबारे व्यवसायीलाई जानकारी गराउन, बजार प्रवर्द्धन गर्न तथा व्यवसायी र श्रमिकलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउन डिजिटल माध्यम प्रभावकारी हुने उनको भनाइ थियो।
डिजिटल प्लेटफर्मबाट दक्ष जनशक्तिको आवश्यकता र उपलब्धताबारे जानकारी आदानप्रदान गर्न तथा उपभोक्ताले आफूले चाहेको डिजाइनअनुसार ग्रिल तथा स्टीलजन्य सामग्री सहज रूपमा अर्डर गर्न सक्ने भएकाले समयको बचत हुने र ठगीबाट समेत जोगिन सहयोग पुग्ने कटुवालले बताए। उनले अन्य जिल्लाका स्टील तथा मेटल फेब्रिकेटर्स व्यवसायीलाई पनि विद्युतीय प्रणालीमा जान आग्रह गरे।कटुवालले ग्रिल व्यवसायमा देखिएका दक्ष जनशक्तिको अभाव, अस्वस्थ प्रतिस्पर्धा र वित्तीय पहुँचको समस्यालाई समाधान गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले सम्बन्धित सरकारी निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। एसोसिएसनका अध्यक्ष वसन्त रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षले ग्रिल व्यवसायीका समस्या समाधानका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए।
नेपाल चेम्बर अफ कमर्स पोखराका प्रतिनिधिले अत्यावश्यक सेवा प्रदान गर्दै आएको ग्रिल व्यवसायलाई राज्यले अपेक्षित प्राथमिकता नदिएको गुनासो गरे। व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गर्ने नीति तथा व्यवहारका कारण व्यवसायले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महाप्रसाद सुवेदीले दक्ष जनशक्तिको पलायन रोक्न घरबाटै पहल सुरु गर्नुपर्ने बताए। देशमै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। ग्रील तथा स्टील व्यवसायी महासंघका उपाध्यक्ष रणबहादुर विश्वकर्माले जिल्लाका व्यवसायीका समस्या समाधानका लागि महासंघले आवश्यक पहल गर्ने बताए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए।
साधारण सभाका प्रमुख अतिथि कटुवालले संघको विकास र व्यवसायीको हितमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए। कार्यक्रममा एसोसिएसनका अध्यक्ष वसन्त रेग्मीले पेट्रोलियम पदार्थपछि ठूलो परिमाणमा आयात हुने फलामजन्य सामानको फेब्रिकेसन गर्ने ग्रिल व्यवसायलाई सहज रूपमा कानुनी दायरामा ल्याई व्यवस्थित गर्न तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले व्यवसायीलाई आवश्यक नीति, पूर्वाधार र सहजीकरण उपलब्ध गराउन सरकारसँग आग्रह गरे।















प्रतिक्रिया दिनुहोस्