काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपहिरोपछि ठूलो संख्यामा शव फेला परेपछि तिनको पोस्टमार्टम तथा पहिचानका लागि नेपाललाई विभिन्न देशका फरेन्सिक विज्ञ टोलीले सहयोग गरिरहेका छन्।
बिहीबार परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालमा जारी खोज तथा उद्धार एवं शव पहिचान कार्यमा अन्तर्राष्ट्रिय फरेन्सिक टोली परिचालन भएको जानकारी दिएका हुन्। उनका अनुसार भारतको १९ सदस्यीय फरेन्सिक टोली, चीनको ५ सदस्यीय विशेषज्ञ फरेन्सिक टोली तथा सिंगापुरको २४ सदस्यीय विपद् पीडित पहिचान (डिभिआई) टोलीमध्ये १९ जना नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन्। यी टोलीले शवको पहिचानका लागि डीएनए संकलन, विश्लेषण तथा रिपोर्टिङ कार्यलाई तीव्रता दिएका छन्।
सिंगापुरको डिभिआई टोलीका बाँकी सदस्यहरू ड्रोन तथा सम्बन्धित उपकरणसहित बिहीबार र शुक्रबार नेपाल आइपुग्नेछन्। त्यस्तै, कोरियाली गणतन्त्रका दुई जना फरेन्सिक अधिकारी पनि आवश्यक उपकरण तथा सामग्रीसहित हालै नेपालमा जारी फरेन्सिक कार्यमा सहभागी भएका छन्। सरकारले नेपालमा उपलब्ध तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विशेषज्ञता र स्रोतसाधनको अधिकतम उपयोग गर्दै शव पहिचान तथा अन्य उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।
प्रभावित क्षेत्र तथा प्रभावित नागरिकसम्म राहत सामग्री पुर्याउने कार्य पनि जारी रहेको मन्त्रालयले जनाएको छ। थप राहत सामग्री तथा आवश्यक सहयोग विभिन्न साझेदारमार्फत परिचालन भइरहेको छ।विपद्पछि फेला परेका शवको आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरी पहिचान गर्ने तथा परिवारलाई पार्थिव शरीर हस्तान्तरण गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको प्रवक्ता क्षेत्रीले बताए ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले उच्च क्षमताका ड्रोन, बेली ब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, मानव अवशेष राख्ने झोला, बाढी उद्धार ट्रक, मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणाली, ग्राउन्ड पेनेट्रेटिङ रडार, उच्च शुद्धताका लेजर मिटर, ब्रोडब्यान्ड सिस्मोमिटर, उच्च क्षमताको सर्ज पम्प र प्रयोगशाला फ्रिजरसहितका सामग्रीका लागि अन्तर्राष्ट्रिय सहयोग मागेको छ। नेपालले आफ्नो नियन्त्रणमा रहेका सबै स्रोतसाधन परिचालन गरिसकेको भए पनि विपद्को व्यापकता र जटिलताका कारण अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको मन्त्रालयले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्