काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए। तत्काल एउटा निर्णयविरुद्ध देखिएको उनीहरूको आक्रोश वास्तवमा वर्षौंदेखि थुप्रिँदै आएको असन्तुष्टिको विस्फोट थियो।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन केही समयमै राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको व्यापक आवाजमा परिणत भयो।
आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा महत्वपूर्ण परिवर्तनको अनुभव गरेको छ भने आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता, पारदर्शिता र संस्थागत सुधारका सवाल अहिले राज्य सञ्चालनको प्रमुख बहस बनेका छन्।
सामाजिक सञ्जालबाट सडकसम्म
जेनजी आन्दोलनको तत्कालीन पृष्ठभूमि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध थियो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार बनिसकेको डिजिटल माध्यममाथिको प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए।
सामाजिक सञ्जालमै सुरु भएको विरोध केही दिनमै सडकमा पुग्यो। भदौ २३ र २४ गते काठमाडौँलगायत देशका विभिन्न स्थानमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। आन्दोलनको स्वरूप र माग विस्तार हुँदै जाँदा यो केवल सामाजिक सञ्जालको स्वतन्त्रताको प्रश्न रहेन।
भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने।
किन आक्रोशित थियो नयाँ पुस्ता ?
जेनजी पुस्ताको असन्तुष्टि कुनै एक दिन वा एउटा घटनाबाट सिर्जना भएको थिएन। लामो समयदेखि मुलुकमा देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहको सुस्तता, भ्रष्टाचारका आरोप, अवसरमा पहुँचको असमानता र राजनीतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो।
उच्च शिक्षा हासिल गरे पनि रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता धेरै युवाको साझा समस्या थियो। स्वदेशमै उद्यम गर्न खोज्दा प्रशासनिक झन्झट, पुँजीको अभाव, नीतिगत अनिश्चितता र सीमित बजारले चुनौती थपिरहेको थियो।
युवाले राज्यसँग केवल रोजगारीको अवसर मागेका थिएनन्। उनीहरू निष्पक्ष प्रणाली चाहन्थे। योग्यता र क्षमताका आधारमा अवसर पाउन चाहन्थे। सरकारी कार्यालयमा सेवा लिन जाँदा राजनीतिक पहुँच वा चिनजान आवश्यक नपर्ने व्यवस्था चाहन्थे।त्यसैले आन्दोलनको मूल भावना राज्य नागरिकप्रति उत्तरदायी हुनुपर्छ भन्ने थियो।
आन्दोलनले राजनीतिक दल र नेतृत्वमाथि पनि गम्भीर प्रश्न उठायो। नयाँ पुस्ताले आफूलाई निर्वाचनका समयमा मात्र सम्झिने मतदाताका रूपमा होइन, नीति निर्माण र शासन प्रक्रियाको सक्रिय हिस्सेदारका रूपमा स्थापित गर्न खोज्यो।
आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले पनि परिवर्तनको जनचाहनालाई प्रतिबिम्बित गरेको देखिन्छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन्।
यस अर्थमा जेनजी आन्दोलनले प्रत्यक्ष रूपमा मात्र नभई अप्रत्यक्ष रूपमा नेपालको राजनीतिक बहसलाई समेत प्रभावित गरेको देखिन्छ।
सुशासनको परीक्षा
आन्दोलनपछि सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार सरकारका प्रमुख एजेन्डा बनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले सार्वजनिक सेवा प्रवाहलाई परिणाममुखी बनाउने, सरकारी संरचनालाई चुस्त बनाउने, सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने तथा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने नीतिलाई प्राथमिकता दिएको छ।
सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको छ। मन्त्रालयको सङ्ख्या घटाउँदा वार्षिक करिब २० अर्ब राज्यकोषमा बचत हुने अनुमान गरिएको छ। सरकारका अनुसार यो निर्णय प्रशासनिक खर्च घटाउने र राज्य संयन्त्रलाई थप प्रभावकारी बनाउने सुधारको हिस्सा हो।
‘अब लाइन हैन, अनलाइन’ भन्ने अवधारणासहित नागरिक एपलाई थप परिस्कृत गरी सञ्चालनमा ल्याइएको छ। सरकारी सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत माध्यमबाट नागरिकसम्म पुर्याउने लक्ष्यसहित एप सञ्चालनमा ल्याइएको हो।
नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र तथा मतदाता परिचयपत्रलगायतका विवरण प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै नागरिक लगानी कोष, सञ्चय कोष तथा सामाजिक सुरक्षा कोषमा जम्मा भएका रकमको विवरणसमेत डिजिटल माध्यमबाट हेर्न सकिने व्यवस्था गरिएको छ।
नागरिकले सरकारी कार्यालयमा सेवा लिन लामो समय लाइन बस्नुपर्ने, अनावश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने र विभिन्न तहमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास भएको छ। नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र तथा मालपोत सेवाजस्ता प्रत्यक्ष नागरिक सरोकारका क्षेत्रमा सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास अघि बढाइएको छ।
तर सुशासनको वास्तविक मूल्याङ्कन नीति र घोषणाबाट होइन, नागरिकले दैनिक जीवनमा अनुभव गर्ने परिवर्तनबाट हुनेछ।
प्रशासनिक संरचनामा सुधार
सरकारले अनावश्यक प्रशासनिक संरचनाको खारेजी तथा समायोजनमार्फत सार्वजनिक खर्च घटाउने र प्रशासनिक कार्यक्षमता बढाउने नीति अघि सारेको छ।
राजनीतिक दल निकट ट्रेड युनियन तथा विद्यार्थी सङ्गठनको प्रभाव घटाउने र सार्वजनिक संस्थालाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने विषय पनि सुधारको एजेन्डासँग जोडिएको छ। सार्वजनिक निकायमा हुने नियुक्ति प्रक्रियालाई पारदर्शी र योग्यतामा आधारित बनाउने प्रश्न जेनजी आन्दोलनले उठाएको महत्वपूर्ण सवाल हो।
राज्यका महत्वपूर्ण निकायमा नियुक्ति गर्दा राजनीतिक निकटताभन्दा योग्यता, अनुभव र कार्यक्षमताले प्राथमिकता पाउनुपर्ने नयाँ पुस्ताको अपेक्षा रहँदै आएको छ।
विश्वविद्यालयलाई समेत दलगत राजनीतिबाट मुक्त गरी उच्च शिक्षाका संस्थालाई शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउने चुनौती अझै कायमै छ।
डिजिटल अधिकारसँग जोडिएको आन्दोलन
जेनजी आन्दोलन डिजिटल पुस्ताको आन्दोलन भएकाले डिजिटल अधिकार यसको महत्वपूर्ण पक्ष हो। सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेभन्दा त्यसलाई जिम्मेवार, सुरक्षित र पारदर्शी ढङ्गले सञ्चालन गर्ने नीति आवश्यक रहेको बहस आन्दोलनपछि थप बलियो भएको छ।
डिजिटल माध्यमबाट नागरिकले सरकारका निर्णयमाथि प्रश्न उठाउन, सूचना प्राप्त गर्न र सार्वजनिक बहसमा सहभागी हुन पाउने वातावरण लोकतान्त्रिक शासनको महत्वपूर्ण आधार हो।
त्यसैले डिजिटल अधिकारलाई केवल सामाजिक सञ्जाल प्रयोगको स्वतन्त्रतासँग मात्र जोडेर हेर्न मिल्दैन। यसले सूचना पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल पहुँच, गोपनीयता र नागरिक सहभागितासमेत समेट्छ।
युवाको अपेक्षा : रोजगारी र अवसर
सुशासनको अर्थ भ्रष्टाचार नियन्त्रण मात्र होइन। नागरिकले आफ्नो श्रम, सीप र योग्यताबाट स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्न सक्ने आर्थिक वातावरण सिर्जना गर्नु पनि सुशासनकै महत्वपूर्ण हिस्सा हो।
त्यसका लागि निजी क्षेत्रको लगानी बढाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनलाई सहज बनाउने, सीपमूलक शिक्षा विस्तार गर्ने र युवालाई उत्पादनसँग जोड्ने नीति आवश्यक छ।
राज्यको प्रशासनिक सुधारसँगै आर्थिक अवसर विस्तार हुन सकेन भने युवाको असन्तुष्टि दीर्घकालीन रूपमा सम्बोधन हुन सक्दैन। युवा विदेशिनुपर्ने बाध्यता घटाउनु, स्वदेशमै उद्यम गर्ने वातावरण बनाउनु र योग्यताका आधारमा अवसर सुनिश्चित गर्नु अबको प्रमुख चुनौती हो।
सत्तापक्ष र प्रतिपक्षको साझा जिम्मेवारी
जेनजी आन्दोलनले कुनै एउटा राजनीतिक दल वा समूहलाई मात्र प्रश्न गरेको थिएन। यसले समग्र राजनीतिक संस्कार र राज्य सञ्चालनको शैलीमाथि प्रश्न उठाएको थियो। त्यसैले यसको समाधान पनि सामूहिक राजनीतिक प्रतिबद्धताबाट मात्र सम्भव छ।
सत्तापक्षले सुशासन र संस्थागत सुधारको एजेन्डालाई निरन्तरता दिनुपर्छ। प्रतिपक्षले पनि सरकारका गलत कामको आलोचना मात्र नगरी आवश्यक सुधारमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ।
नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, युवा समुदाय र राज्यका सबै निकायले पनि आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता छ।
अबको बाटो :आन्दोलनको ऊर्जालाई राष्ट्र निर्माणमा बदल्ने समय
जेनजी आन्दोलनले एउटा पुस्ताको बेचैनीलाई आवाज दिएको थियो। त्यो आवाजले राजनीतिक नेतृत्वलाई मात्र होइन, राज्यका सम्पूर्ण संस्थालाई आफ्नो काम गर्ने शैलीबारे पुनर्विचार गर्न बाध्य बनायो।
अबको आवश्यकता आन्दोलनको भावनालाई निरन्तर राजनीतिक असन्तोषमा सीमित राख्नु होइन, त्यसलाई राष्ट्र निर्माणको ऊर्जामा रूपान्तरण गर्नु हो।
राज्य संरचनामा आवश्यक सुधार, प्रशासनिक झन्झटको अन्त्य, कानुनी प्रक्रियाको सरलीकरण, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र डिजिटल अधिकारको सुनिश्चितता आगामी दिनका मुख्य प्राथमिकता बन्नुपर्ने देखिन्छ।
राष्ट्रिय स्वार्थ, सामूहिकता र बृहत्तर एकतालाई केन्द्रमा राखेर अघि बढ्नु अहिलेको आवश्यकता हो। सत्तापक्ष र प्रतिपक्ष दुवैले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर नागरिक सेवा र राष्ट्रिय हितलाई प्राथमिकता दिन सकेमा मात्र परिवर्तनले स्थायित्व पाउनेछ।
एक वर्षअघि सडकमा उठेको आवाजले एउटा पुस्ताको प्रश्न प्रस्तुत गरेको थियो‘हाम्रो भविष्य कहिले बदलिन्छ ’ अब त्यस प्रश्नको उत्तर नारामा होइन, नीति र परिणाममा दिनुपर्ने समय आएको छ।
युवाले खोजेको परिवर्तन त्यतिबेला मात्र सार्थक हुनेछ, जब देशमै सम्मानपूर्वक बाँच्न सक्ने अवसर सिर्जना हुनेछ, सरकारी सेवा सहज र पारदर्शी हुनेछ, सार्वजनिक संस्थामाथि नागरिकको विश्वास बढ्नेछ र राज्यका निर्णयमा नागरिकको आवाजको अर्थपूर्ण स्थान हुनेछ।
जेनजी आन्दोलनको वास्तविक सफलता सरकार परिवर्तनमा मात्र होइन, राज्य सञ्चालनको संस्कार परिवर्तनमा हुनेछ। सडकमा जन्मिएको असन्तोष संस्थागत सुधार हुँदै नागरिकको दैनिक जीवनमा देखिने परिणाममा रूपान्तरण भएमा मात्र एक वर्षअघि दिइएको बलिदान र उठाइएको आवाजले दीर्घकालीन अर्थ पाउनेछ।















प्रतिक्रिया दिनुहोस्