Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

भदौ २४ को विध्वंसबारे गम्भीर अनुसन्धान आवश्यक छ : प्रचण्ड

भदौ २४ को विध्वंसबारे गम्भीर अनुसन्धान आवश्यक छ : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश तथा वक्तव्य जारी गर्दै प्रचण्डले भदौ २४ गतेको घटनालाई नेपालको इतिहासकै रहस्यमय र भयानक विध्वंसका रूपमा चित्रण गरेका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याई वास्तविक दोषी पहिचान गरेर कानुनी कारबाही गर्नुपर्ने बताए। ‘आजको दिनलाई सम्झिँदा राष्ट्रिय स्वाधीनता, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार केही घण्टाभित्रै हुनु साच्चिकै रहस्यमय छ। गहिरो अध्ययन–अनुसन्धान गरेर यो विध्वंस मच्चाउने तत्व को हुन्, वास्तविक दोषी को हुन् भन्ने सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्नुपर्छ’ दाहालले भने ।

प्रचण्डले जेन–जी आन्दोलनको सुरुवाती माग र त्यसपछिको हिंसात्मक घटनालाई एउटै रूपमा हेर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र समान अवसरको मागसहित युवाहरूले आन्दोलन सुरु गरेको उल्लेख गर्दै उनले राज्यले युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा दमनको बाटो रोजेको आरोप लगाए।
त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘सन्दिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको’ उनको दाबी छ। उनका अनुसार भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालयसँगै राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमा समेत लुटपाट, आगजनी र तोडफोड भएका थिए। उनले भने, ‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन। दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन।’

प्रचण्डले आन्दोलनमाथि दमन किन र कसरी भयो, त्यसपछि आन्दोलन कसले भड्कायो, हिंसा तथा लुटपाटमा को–को संलग्न थिए र त्यसबाट लाभ कसले उठायो भन्ने विषयमा अनुसन्धान आवश्यक रहेको बताए। प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूहको परिचालन देखिनु तथा प्रज्वलनशील पदार्थ प्रयोग भएका घटनाले थप गम्भीर प्रश्न जन्माएको उनको भनाइ छ। उनले राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनबारे तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नसमेत माग गरेका छन्। आयोगको प्रतिवेदन दराजमा थन्क्याएर राख्ने काम भएको भन्दै उनले त्यसमा औंल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने बताए। ‘गएको एक वर्षमा घटनाको सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम भएको छैन। मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन पनि कार्यान्वयनतर्फ अगाडि बढेको छैन, बरु दराजमा थन्क्याउने काम भएको छ,’ प्रचण्डले भने ।

प्रचण्डले भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी मागलाई भदौ २४ को घटनाले सम्बोधन नगरेको पनि बताए। बरु जेन–जी युवाको भावना र आकांक्षामाथि प्रहार गर्दै आन्दोलनलाई ‘अपहरण’ गर्नेहरूको प्रभाव बढेको उनको दाबी छ। उनले भदौ २४ को घटनाका राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताएका छन्। वर्तमान भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राखेर घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन–अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ। ‘यसका राष्ट्रिय आयाम छन्, अन्तर्राष्ट्रिय आयाम पनि छन्। त्यसकारण आजको भूराजनीतिक सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरबाट समेत यसको अध्ययन र अनुसन्धान हुन जरुरी छ।’

यसैबीच, प्रचण्डले जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरका मुद्दा अझै सम्बोधन नभएको बताएका छन्। महँगी, कमजोर अर्थतन्त्र, रोजगारीको अभाव, बढ्दो वैदेशिक पलायन, सार्वजनिक ऋण र करको बोझले नागरिक थप समस्यामा परेको उनको दाबी छ। संविधान संशोधनका नाममा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ताजस्ता संविधानका मूलभूत उपलब्धि कमजोर पार्ने प्रयास स्वीकार्य नहुने चेतावनीसमेत उनले दिएका छन्। प्रचण्डले लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु रहेको बताए। उनले यसलाई ‘लोकतन्त्रको सर्भिसिङ’को संज्ञा दिएका छन्।

उनले जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको दिन विगत सम्झने मात्र नभई राज्यलाई प्रश्न गर्ने, सत्य खोज्ने र भविष्यको बाटो तय गर्ने अवसर भएको बताएका छन्। साथै उनले आफ्नो पार्टीले विगतका अभ्यासबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्। प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा रहेका राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपालीलाई प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिविरुद्ध एकताबद्ध हुनसमेत अपिल गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit