काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने अभियानलाई सरकारले तीव्रता दिएको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार मंगलबार विदुर–१० र ११ मा विद्युत् सेवा पुनः सुचारु गरिएको हो । यसैगरी बाढीका कारण विद्युत् सेवा प्रभावित भएको तारकेश्वर गाउँपालिका–४ मा समेत विद्युत् आपूर्ति पुनः सञ्चालन भएको छ । भदौ १० गते आएको विनाशकारी बाढीबाट विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि मन्त्रालयले भोलिपल्टैदेखि उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी सेवा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ । क्षतिग्रस्त पूर्वाधारका कारण विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर विद्युतीकरणको कामलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । विद्युत् सेवा तत्काल पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सामुदायिक आश्रयस्थलका लागि २ किलोवाट क्षमताका सोलार प्रणाली तथा घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने कामसमेत अघि बढाइएको छ ।















प्रतिक्रिया दिनुहोस्