काठमाडौं । प्रभु बैंक लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई आश्रय दिइरहेको काठमाडौंस्थित पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विपद्बाट प्रभावित तथा आश्रयस्थलमा बसोबास गरिरहेका परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बंक बेड उपलब्ध गराएको हो । प्रभावित परिवारका लागि दुई तल्ले खाट आवश्यक रहेको पहिचान भएपछि बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
बैंकका अनुसार सहयोगबाट पहेंलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारलाई बसोबासमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि प्रभु बैंकले बाढीका कारण प्रभावित तथा घरबारविहीन भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सीएसआरअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ र बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको रु। ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।
त्यस्तै, बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
विपद्बाट घाइते भएका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै, विपद्बाट प्रभावित समुदायप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्