काठमाडौं । आगामी असोज ८ गतेदेखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षाको मात्रा बढ्न सक्ने प्रक्षेपण गरेका हुन्।
मौसमविद् विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलहरूको अध्ययनपछि पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै आगामी बिहीबारदेखि सोमबारसम्म वर्षाको सम्भावना देखिएको बताएका छन्। उनका अनुसार असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार भारी वर्षाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। ‘शुक्रबार र शनिबार अलि धेरै नै जोखिम देखिन्छ,’ उनले भने।
पोखरेलका अनुसार अमेरिकी मौसम पूर्वानुमान मोडलले बिहीबारदेखि सोमबारसम्म लामो समय वर्षा हुनसक्ने देखाएको छ भने युरोपेली मोडलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना बढी देखाएको छ। अन्य केही मोडलहरूले पूर्वी नेपाल र सुदूरपश्चिममा समेत वर्षाको सम्भावना औँल्याएका छन्।
विभिन्न मोडलहरूले चारदेखि पाँच दिनको अवधिमा कतिपय क्षेत्रमा कुल ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको पोखरेलले जानकारी दिए ।यद्यपि उक्त वर्षा एकै दिनमा नभई धेरै दिनमा फैलिने उनको भनाइ छ। उनका अनुसार तीनवटै प्रमुख मौसम मोडलले लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखाएका छन्। तर कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने कुरा प्रणालीको विकास र त्यसको मार्गमा हुने सामान्य परिवर्तनले समेत प्रभावित गर्न सक्ने भएकाले अहिले नै निश्चित स्थान तोक्न नसकिने उनको भनाइ छ। ‘यही ठाउँमा पानी पर्छ भन्न सकिँदैन। त्यो बेला थोरै मात्र परिवर्तन हुँदा पनि वर्षाको मात्रा घटबढ हुन सक्छ। सचेत हुन जरूरी छ,’ पोखरेलले भने।
उनका अनुसार मनसुनको उत्तरार्द्धमा लामो समयसम्म भारी वर्षा हुँदा जोखिम थप बढ्न सक्छ। पहिल्यै भिजेको जमिनमा लगातार वर्षा हुँदा बाढी तथा पहिरोको जोखिम बढ्ने र प्रणाली सुस्त गतिमा अघि बढेमा लामो समय पानी पर्ने सम्भावना रहने उनले बताए। यसकारण किसानले बाली जोगाउन पूर्वतयारी गर्नुपर्ने तथा सरकारले जोखिमयुक्त क्षेत्रको पहिचान गरी सवारी सञ्चालन र जनसुरक्षाका लागि आवश्यक तयारी गर्नुपर्ने पोखरेलको सुझाव छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि असोज ८ देखि १२ गतेसम्म वर्षाको सम्भावनाबारे निगरानी गरिरहेको जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडी र अण्डमान आसपास विकास भइरहेको प्रणाली क्रमशः उत्तर–पश्चिमतर्फ सर्दै जाँदा त्यसको प्रभाव नेपालमा पर्न सक्ने देखिएको हो। ‘फोरकास्ट सात दिनसम्म हेर्दाखेरि यसको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना देखिन्छ। तर कति पर्छ, के पर्छ र कसरी डेभलप हुँदै आउँछ भन्नेचाहिँ हामी मोनिटरिङ नै गरिरहेका छौँ,’ लामिछानेले भनेका छन् ।
उनका अनुसार बंगालको खाडीमा विकास भइरहेको प्रणाली चक्रवातका रूपमा विकसित हुनसक्ने सम्भावनासमेत छ। चक्रवात ओडिसा तथा आसपासका क्षेत्रमा पुगेमा यसको क्षेत्र विस्तार भई त्यसको बाह्य प्रभाव नेपालसम्म पर्न सक्ने विभागको आकलन छ । यद्यपि अहिले नै नेपालमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न नसकिने लामिछानेले स्पष्ट पारे। प्रणाली विकास हुँदै जाँदा वर्षाको सम्भावना र प्रभावबारे थप जानकारी सार्वजनिक गर्दै जाने विभागको तयारी छ। ‘पानी कति पर्छ भन्ने चाहिँ अहिले भनिहाल्ने अवस्था छैन। दिन नजिकिँदै जाँदाखेरि त्यसको थप पूर्वानुमान पनि हामी दिँदै जानेछौँ,’ उनले भने।















प्रतिक्रिया दिनुहोस्