काठमाडौं । रसुवा बाढीबाट प्रभावित बीमितले समयमै क्षतिको जानकारी दिन नसकेको वा सामान्य हदम्याद नाघेको कारण मात्रै बीमा कम्पनीले दाबी अस्वीकार गर्न नपाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ जारी गरेको हो। कार्यविधिअनुसार विपद्का कारण बीमितले क्षतिको जानकारी ढिला गराएको अवस्थामा पनि केवल हदम्याद नाघेको आधारमा दाबी अस्वीकार गर्न पाइने छैन। गत भदौ १० गते ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी प्रणालीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा यो व्यवस्था लागू हुनेछ।
बाढीबाट क्षति भएका बीमित सम्पत्ति, सवारीसाधन, परियोजना, व्यापारिक मौज्दात तथा मानवीय क्षतिसम्बन्धी दाबीलाई सरल र छिटो प्रक्रियाबाट फर्छ्योट गर्ने गरी प्राधिकरणले कार्यविधि ल्याएको हो।कार्यविधिले दाबीको प्रारम्भिक सूचना दिने प्रक्रियासमेत सहज बनाएको छ। बाढी प्रभावित बीमितले लिखितसँगै मौखिक वा विद्युतीय माध्यमबाट पनि क्षतिको जानकारी गराउन सक्नेछन्। सूचना प्राप्त भएपछि बीमा कम्पनीले दाबी नम्बर उपलब्ध गराई क्षति मूल्यांकनको प्रक्रिया अघि बढाउनुपर्नेछ।
बाढीका कारण सक्कल कागजात नष्ट वा हराएको अवस्थामा उपलब्ध फोटो, भिडियो, विद्युतीय अभिलेख तथा अन्य विश्वसनीय सरकारी वा संस्थागत प्रमाणका आधारमा पनि क्षति मूल्यांकन गर्न सकिने व्यवस्था गरिएको छ। स्टक तथा मौज्दातको हकमा करसम्बन्धी अभिलेख, कारोबार विवरण तथा सम्बन्धित निकायमा बीमितले घोषणा गरेको स्टक विवरणलगायत प्रमाणलाई आधार बनाउन सकिनेछ। प्रहरी प्रतिवेदन उपलब्ध हुन नसकेको अवस्थामा पनि अन्य विश्वसनीय सरकारी प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था कार्यविधिले गरेको छ। त्यस्तै, बाढीबाट प्रभावित बीमितलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन अनुमानित दायित्वको बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। सर्भेयरको प्रारम्भिक मूल्यांकन वा उपलब्ध प्रमाणका आधारमा बीमा कम्पनीले यस्तो अग्रिम रकम भुक्तानी गर्नुपर्नेछ।
प्राविधिक रूपमा जटिल नभएका र पर्याप्त प्रमाण उपलब्ध भएका पाँच लाख रुपैयाँसम्मका सरल दाबीमा सर्भेयर नियुक्त नगरी बीमा कम्पनीले आफ्नै कर्मचारीमार्फत निरीक्षण तथा प्रमाण संकलन गरी दाबी फर्छ्योट गर्न सक्ने व्यवस्था गरिएको छ। बाढीले पूर्ण रूपमा क्षति भएका सवारीसाधनको हकमा बीमाङ्क वा सवारीसाधनको प्रचलित बजार मूल्यमध्ये बढी रकमको ५० प्रतिशतसम्म तत्काल अग्रिम भुक्तानी गर्नुपर्नेछ। बाँकी रकम सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट दर्ता खारेजीको प्रमाणपत्र प्राप्त गरी बीमा कम्पनीमा पेस गरेको सात दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, भन्सार यार्ड, बाटो, गोदाम वा अन्य स्वीकृत स्थानमा रहेका तथा यातायात व्यवस्था कार्यालयमा दर्ता हुन बाँकी रहेका तर मोटर वा परिवहन बीमा गरिएका आयातित सवारीसाधनको हकमा पनि कार्यविधिअनुसार दाबी फर्छ्योट गर्नुपर्नेछ। बाढीका कारण भौतिक निरीक्षण सम्भव नभएको अवस्थामा क्षति हुनुअघिका फोटो, भिडियो, विद्युतीय अभिलेख वा अन्य विश्वसनीय प्रमाणका आधारमा क्षति मूल्यांकन गर्न सकिनेछ। बाढीमा परी बेपत्ता भएका व्यक्तिको हकमा आधिकारिक सरकारी निकायबाट मृत्यु यकिन हुने गरी गरिएको सिफारिसका आधारमा हकवालालाई बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
विदेशी नागरिकको हकमा सम्बन्धित देशको दूतावासमार्फत नेपाली रुपैयाँमा क्षतिपूर्ति भुक्तानी गर्ने व्यवस्था रहेको छ। कुनै दाबी पूर्ण वा आंशिक रूपमा अस्वीकार गर्नुपर्ने वा दाबी रकम कटौती गर्नुपर्ने अवस्था आएमा त्यसको आधार र कारण बीमितलाई स्पष्ट रूपमा जानकारी गराउनुपर्नेछ।यस्तै, झुटा वा गलत विवरण तथा प्रमाण पेस गरी दाबी भुक्तानी लिएको पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने र भुक्तानी भइसकेको रकमसमेत फिर्ता लिन सकिने व्यवस्था कार्यविधिमा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्