काठमाडौं। अध्यादेशमार्फत परिवर्तन गरिएका कानुनी व्यवस्था केही महिनामै फेरि साविककै अवस्थामा फर्काउने गरी सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा प्रश्न उठेको छ। सांसदहरूले साविककै व्यवस्था आवश्यक थियो भने त्यसलाई अध्यादेशमार्फत किन परिवर्तन गरियो र अहिले फेरि किन पुरानै व्यवस्था जगाउन खोजिएको हो भन्ने प्रश्न गरेका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न सरकारले २०८३ वैशाख १९ गते अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशमार्फत ११० वटा प्रचलित ऐनमा संशोधन गरिएको थियो भने विभिन्न सार्वजनिक निकायमा कार्यरत १ हजार ५३४ जना पदाधिकारी पदमुक्त भएका थिए । तर, अध्यादेश निष्क्रिय भएपछि सरकारले त्यसमध्ये ८५ वटा ऐनमा अध्यादेशबाट हटाइएका साविकका व्यवस्था पुनः कायम गर्ने उद्देश्यसहित पदाधिकारीको पदमुक्तिसम्बन्धी कानुनी रिक्तता हटाउन ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ ल्याएको छ। रिक्त पदमा नयाँ नियुक्ति भइसकेको अवस्थामा भने उक्त विधेयकमार्फत पुराना कानुनी व्यवस्था पुनःस्थापित गर्न खोजिएको विषयले संसदमा बहस निम्त्याएको हो ।
विधेयकमाथिको छलफलमा मंगलबार नेकपा एमालेका सांसद पुष्पराज कँडेलले यसको औचित्यमाथि नै प्रश्न उठाए । उनका अनुसार अध्यादेश निष्क्रिय भएपछि साविककै कानुनी व्यवस्था स्वतः कायम हुने विषयमा सर्वोच्च अदालतको व्याख्या रहेको अवस्थामा छुट्टै विधेयक आवश्यक थिएन। ‘मेरो विचारमा यो विधेयकै आवश्यक थिएन,’ कँडेलले भने, ‘सर्वोच्चले पहिले नै अध्यादेश निष्क्रिय भयो भने पुरानै व्यवस्था लागू हुन्छ भन्ने व्याख्या गरिसकेको भन्ने मैले कानुनविद्हरूसँगको छलफलबाट बुझेको छु।’
उनले सरकारले स्थायित्व, सुशासन र थिति बसाल्ने उद्देश्यसहित काम गर्ने दाबी गरिरहेको अवस्थामा केही महिनामै कानुनी व्यवस्था परिवर्तन गर्ने र फेरि पुरानै अवस्थामा फर्काउने प्रवृत्तिले त्यही उद्देश्यमाथि प्रश्न उठाउने बताए । ‘तीन–तीन महिनामा खास प्रयोजनका लागि कुनै दफा हटाउने, कुनै ऐन हटाउने अनि तीन महिनापछि आफ्नो स्वार्थका लागि त्यसलाई फेरि जगाएर ल्याउने’ उनले प्रश्न गरे, ‘अब यसले स्थायित्व बस्छ ? यसले सुशासन ल्याउँछ ? थिति बस्छ ?’ कँडेलले यस्तो कानुनी अस्थिरताले लगानीको वातावरण र राज्यप्रतिको विश्वासमा समेत प्रश्न उठाउने बताए। सरकार स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने कुरा गरिरहेको भए पनि बारम्बार कानुन परिवर्तन गर्ने प्रक्रियाले त्यसलाई सहयोग नगर्ने उनको तर्क थियो । उनले विधेयकलाई दलगत स्वार्थसँग जोडेर समेत प्रश्न गरे। ‘यो नितान्त पार्टीगत स्वार्थको हिसाबले ल्याइएको विधेयक हो । हिजो ल्याइएको अध्यादेश पनि त्यही हो र अहिले ल्याएको यो विधेयक पनि त्यही नै हो,’ उनले भने ।
अध्यादेशबाट सार्वजनिक पदाधिकारी हटाइएको प्रसंग जोड्दै कँडेलले पुरानो व्यवस्था नै पुनःस्थापित गर्ने हो भने पहिलाका नियुक्तिहरूको अवस्थाबारे पनि प्रश्न उठाए । ‘अब जगाउने नै हो भने नियुक्ति पनि पहिलाकालाई जगाइदिऊँ, खाऊन् केही समय। संसदै पो जगाइदिने हो कि पुरानो ?’ उनले व्यंग्यात्मक प्रश्न गरे। कँडेलको प्रश्न केवल विधेयकको आवश्यकतामा सीमित छैन । उनले सरकारको कानुन निर्माण र संस्थागत स्थायित्वको दृष्टिकोणमाथि समेत प्रश्न उठाएका छन् । केही महिनाको अन्तरालमा एउटै विषयमा फरक–फरक कानुनी व्यवस्था ल्याउँदा सरकारको नीति र निर्णय प्रक्रियाको निरन्तरतामाथि प्रश्न उठ्ने उनको भनाइ छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीकी सांसद टुका भद्रा हमालले कानुनलाई सरकारको सुविधाभन्दा राज्य सञ्चालनको स्थायित्व र विधिको शासनसँग जोडेर हेर्नुपर्ने बताइन्। हमालले सरकारले २०८३ वैशाख १९ गते जारी गरेको अध्यादेशमार्फत ११० वटा ऐन संशोधन गरी ठूलो संख्यामा सार्वजनिक पदाधिकारी हटाएको र अहिले त्यसमध्ये ८५ वटा ऐनका साविकका व्यवस्था पुनः कायम गर्न विधेयक ल्याएको विषयमा सरकारसँग स्पष्ट जवाफ मागिन् । ‘यदि पुरानै कानुन व्यवस्था आवश्यक थियो भने केही महिनाअघि अध्यादेशमार्फत त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता किन पर्यो ? र यदि अध्यादेशमार्फत गरिएको परिवर्तन आवश्यक थियो भने आज फेरि त्यही व्यवस्था साविककै अवस्थामा फर्काउनुपर्ने कारण के हो?’ हमालले प्रश्न गरिन् ।
उनका अनुसार यो प्रश्न सरकारको निर्णयसँग मात्र सम्बन्धित नभई संसदको संस्थागत गरिमासँग समेत जोडिएको विषय हो । हमालले अध्यादेश संविधानले दिएको अधिकार भए पनि त्यसलाई संसदको विकल्पका रूपमा प्रयोग गर्न नहुने धारणा राखिन् । संसद बैठकमा रहेको अवस्थामा महत्वपूर्ण कानुन तथा संस्थागत विषयहरू संसदकै व्यापक छलफलबाट टुंग्याउनुपर्ने उनको भनाइ थियो । एकैपटक ११० वटा ऐनमा परिवर्तन गर्ने, त्यसबाट ठूलो संख्यामा सार्वजनिक पदाधिकारी हटाउने तथा केही समयपछि त्यसमध्ये ८५ वटा ऐनका पुराना व्यवस्था फेरि जगाउने प्रक्रियाले राज्यका संस्थाहरूको स्थायित्व र विश्वासमाथि प्रश्न उठाउने उनले बताइन् ।
हमालले सरकारसँग तीन मुख्य प्रश्नसमेत राखिन् । ‘पहिलो, ११० वटा ऐनमध्ये ८५ वटा ऐनका व्यवस्था मात्रै किन पुनःस्थापित गर्न लागिएको हो र बाँकी २५ वटा ऐनका सम्बन्धमा सरकारको धारणा के हो ? दोस्रो, अध्यादेशबाट पदमुक्त भएका सार्वजनिक पदाधिकारीका सम्बन्धमा कानुनी तथा प्रशासनिक व्यवस्था के हुन्छ र नयाँ नियुक्तिमा योग्यता, पारदर्शिता तथा प्रतिस्पर्धाको मापदण्ड कसरी सुनिश्चित गरिन्छ ? तेस्रो, राजनीतिक निकटता वा सरकार परिवर्तनका आधारमा संवैधानिक तथा सार्वजनिक संस्थाका पदाधिकारी फेरिने परिपाटी अन्त्य गर्न सरकारसँग कस्तो ठोस व्यवस्था छ ?’
यसैगरी, सांसद हमालले सरकार फेरिँदा कानुन फेरिनेभन्दा कानुन बलियो भएर सरकार त्यसअनुसार सञ्चालन हुने व्यवस्था आवश्यक रहेको बताइन् । ‘हामीलाई सरकार फेरिँदा कानुन फेरिने होइन, कानुन बलियो हुँदा सरकार कानुनअनुसार चल्ने व्यवस्था चाहिएको छ,’ उनले भनिन् । उनले विधेयकलाई सार्वजनिक निकायमा नियुक्ति प्रक्रियालाई पारदर्शी, योग्यतामा आधारित, स्वायत्त र जवाफदेही बनाउने अवसरका रूपमा उपयोग गर्न सुझाव दिइन् । प्रतिनिधिसभामा उठेको यो विषय केवल अध्यादेशबाट संशोधन भएका ८५ वटा ऐनलाई साविकको अवस्थामा फर्काउने विषयमा सीमित देखिँदैन्। बहसको केन्द्रमा सरकारले कानुन निर्माण र सार्वजनिक निकायका नियुक्तिलाई कति स्थिर, पूर्वानुमानयोग्य र संस्थागत बनाउने भन्ने उठाएको छ।
प्रधानमन्त्रीको तर्फबाट उक्त विधेयक सदनमा पेश गरेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अध्यादेश निष्क्रिय भएपछि उत्पन्न भएको कानुनी रिक्तता हटाउन सरकारले उक्त विधेयक ल्याएको बताइन् । उनका अनुसार, निष्क्रिय भएका कानुनी प्रावधानलाई पुनः निरन्तरता दिई सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी प्रक्रिया स्पष्ट र व्यवस्थित बनाउने उद्देश्य विधेयकको रहेको छ। सरकारले मंगलबार संसदमा पुर्याएको उक्त विधेयकमाथि छलफल सकेर प्रतिनिधि सभाबाट स्वीकृत भैसकेको छ। अब विधेयकमाथि संशोधन गर्न चाहने सांसदहरुले संशोधन सूचना दिन पाउनेछन् ।















प्रतिक्रिया दिनुहोस्