Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

पहिलो चरणको हार उल्ट्याउँदै लुला चौथोपटक ब्राजिलको राष्ट्रपति निर्वाचित, दक्षिणपन्थीलाई धक्का

पहिलो चरणको हार उल्ट्याउँदै लुला चौथोपटक ब्राजिलको राष्ट्रपति निर्वाचित, दक्षिणपन्थीलाई धक्का
फोटो : रोयटर्स
विज्ञापन
Advertisement

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा ऐतिहासिक जित हासिल गर्दै चौथोपटक राष्ट्रपति निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सम्पन्न निर्वाचनमा उनले दक्षिणपन्थी प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतका अनुसार लुलाले ५१.७९ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ५६ हजार २३२ मत प्राप्त गरे। फ्लाभियोले ४८.२१ प्रतिशत अर्थात् ५ करोड ९८ लाख २६ हजार ४१ मत पाए। दुई उम्मेदवारबीचको मतान्तर करिब ४४ लाख रह्यो। निर्वाचनको अन्तिम परिणामले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा वामपन्थी नेतृत्वलाई निरन्तरता दिएको छ। ब्राजिलको निर्वाचन अदालतले पनि यही परिणामलाई पुष्टि गरेका छन्।

यसपटकको निर्वाचन लुलाका लागि कठिन प्रतिस्पर्धा बनेको थियो। अक्टोबर ४ मा सम्पन्न पहिलो चरणमा फ्लाभियोले ४७.०३ प्रतिशत मत प्राप्त गर्दा लुलाले ४५.१६ प्रतिशत मत पाएका थिए। पहिलो चरणमा २२ लाखभन्दा बढी मतले पछि परेका लुलाले दोस्रो चरणमा परिणाम उल्ट्याएका हुन्। सन् १९८५ मा सैन्य शासन अन्त्य भएपछि पहिलो चरणमा दोस्रो स्थानमा रहेका उम्मेदवारले राष्ट्रपतीय निर्वाचन जितेको यो पहिलो घटना भएको एपीले जनाएको छ।

मतदानको समय थप दुई घण्टा लम्ब्याउने निर्णयपछि निर्वाचनमा विवादसमेत उत्पन्न भएको थियो। सार्वजनिक यातायातको समस्या र खराब मौसमका कारण दुवै उम्मेदवारको पक्षबाट मतदान समय थप्न माग गरिएको थियो। तर, परिणाम सार्वजनिक भएपछि फ्लाभियोले पराजय स्वीकार नगरी निर्वाचन बदरको माग गर्ने बताएका छन्। निर्वाचन अधिकारीहरूले भने मतदान समय थपिँदा परिणाम प्रभावित नभएको बताएका छन्। लुलाको जितले ब्राजिलमा गहिरिएको राजनीतिक ध्रुवीकरणलाई पुनः उजागर गरेको छ। चुनावमा महँगी, जीवनयापनको लागत, सार्वजनिक सुरक्षा, सामाजिक कल्याण र अमेरिकासँगको सम्बन्ध प्रमुख मुद्दा बनेका थिए। लुलाले गरिब तथा न्यून आय भएका नागरिकको हित र सामाजिक सुरक्षालाई प्राथमिकता दिएका थिए भने फ्लाभियोले सुरक्षा र परिवर्तनको एजेन्डा अघि सारेका थिए।

सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल राष्ट्रपति बनेका लुला सन् २०२३ मा पुनः सत्तामा फर्किएका थिए। भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल परेपछि उनका दोषसिद्धि खारेज भएको थियो। अब सन् २०२७ जनवरी ५ देखि सुरु हुने चौथो कार्यकालमा उनले आर्थिक चुनौती, राजनीतिक ध्रुवीकरण र विपक्षी प्रभाव रहेको संसद्सँग समन्वय गर्दै शासन सञ्चालन गर्नुपर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit