काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’बाट प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष नेपालकै उत्कृष्ट बैंकको सम्मान हासिल गरेको हो।
बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सबाट ‘बेस्ट बैंक नेपाल’ अवार्ड प्राप्त गरेको थियो। यस वर्षको सम्मानसँगै बैंकले उक्त विधामा लगातार तीन वर्ष आफ्नो उत्कृष्टता कायम राखेको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन र अत्याधुनिक प्रविधिको प्रयोगलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ। यसका साथै कृत्रिम बौद्धिकता (एआई)को प्रभावकारी प्रयोग, दिगो कर्जा प्रवाह तथा जोखिम व्यवस्थापनमा देखाएको सबलतालाई समेत अवार्ड प्रदान गर्नुका प्रमुख आधारका रूपमा लिइएको छ। अवार्ड वितरण समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकका प्रमुख वित्तीय संस्थाहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए।
ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूको कार्यसम्पादन र उपलब्धिका आधारमा विभिन्न विधामा यस्तो सम्मान प्रदान गर्दै आएको छ। बैंकले प्राप्त गरेको पछिल्लो सम्मानले ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहन मिलेको बैंकले जनाएको छ। साथै, बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।
बैंकका अनुसार आधुनिक प्रविधिको प्रयोग र उत्कृष्ट ग्राहक सेवाका कारण ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’ र ‘बेस्ट इन्टरनेट बैंक २०१६’ लगायतका अवार्ड प्राप्त गरेको थियो। यस्तै, सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सलेन्स, सन् २०२४ मा बेस्ट बैंक ईएसजी नेपाल तथा बेस्ट इम्प्लोयरलगायतका सम्मान पनि प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ। यसका अतिरिक्त, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्