काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सफलताको शुभकामना व्यक्त गरेका छन्।
उनले नेपाली क्रिकेटले वर्तमान अवस्था हासिल गर्न वर्षौंको संघर्ष, मेहनत र समर्पण पार गरेको स्मरण गर्दै खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको योगदानको प्रशंसा गरेका छन्।
सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको तेस्रो संस्करणका अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना,’ उनले भनेका छन्, ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ।’
नेपाली क्रिकेटले सीमित स्रोतसाधन र अनेक कठिनाइका बाबजुद अहिलेको स्थान हासिल गरेको उल्लेख गर्दै थापाले यसको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई विशेष रूपमा सम्झिएका छन्। ‘सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ थापाले भनेका छन्।
एनपीएलको नयाँ संस्करण सुरु भएसँगै नेपाली क्रिकेटमा थप उत्साह र प्रतिस्पर्धा बढ्ने तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्