काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबारका लागि तय गरेको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्राविधिक समस्याका कारण स्थगित गरेको छ।
कार्यालयले असोज ३० गते प्रकाशित सूचनाअनुसार सोमबार ९१ दिने नयाँ ट्रेजरी बिलमार्फत पाँच अर्ब रुपैयाँ निष्कासन गर्ने र १८२ दिने ट्रेजरी बिलमार्फत थप पाँच अर्ब रुपैयाँ नवीकरण गर्ने जनाएको थियो। यसरी कुल १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल आजै गर्ने कार्यालयको योजना थियो। निर्धारित तालिकाअनुसार बोलकबोल सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने कार्यक्रम थियो। तर, ऋणपत्र निष्कासन तथा बोलकबोल व्यवस्थापनका लागि प्रयोग हुने ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या देखिएपछि प्रक्रिया अघि बढ्न सकेन।
वेबसाइट सञ्चालनमा आए पनि डोम्स प्रणालीभित्र थप प्राविधिक सुधार तथा मर्मत आवश्यक देखिएको प्रविधि टोलीले प्रणालीमा काम गरिरहेको र तत्कालका लागि बोलकबोल प्रक्रिया स्थगित गरिएको जनाइएको छ। ट्रेजरी बिल सरकारले अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गर्ने प्रमुख ऋणपत्र हो। यसको बोलकबोलमा प्राविधिक अवरोध आउँदा निर्धारित समयमा ऋणपत्र निष्कासन तथा नवीकरण प्रक्रिया प्रभावित हुन सक्छ।















प्रतिक्रिया दिनुहोस्