काठमाडौं। एभरेष्ट पेपर मिल्स प्रा.लि.का १७४ जना श्रमिकले लामो समयदेखि रोकिएको सेवा सुविधा र पारिश्रमिकबापतको रकम पाएका छन् ।
कम्पनीले कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ पारिश्रमिक दिएको हो । उद्योग प्रशासन र श्रमिकबीचको विवाद तथा लामो कानुनी सङ्घर्षपछि श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिअनुसार श्रमिकले विभिन्न चेकमार्फत बक्यौता रकम पाएका हुन्।
उद्योगबाट पाउनुपर्ने सेवा सुविधा र पारिश्रमिक भुक्तानी नभएपछि श्रमिकहरूले कानुनी प्रक्रिया अघि बढाएका थिए। पटकपटकको कानुनी प्रयासपछि श्रम अदालतले २०८२ चैत १७ गते श्रमिकलाई भुक्तानी गर्नुपर्ने ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा उपलब्ध गराउन उद्योगको बैंक खाता फुकुवा गर्न आदेश दिएको थियो। तर, बैंक खाता फुकुवा भए पनि उद्योगबाट रकम भुक्तानी नभएपछि श्रमिकहरूले अदालतको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनासम्बन्धी पुनः निवेदन दिएका थिए। त्यसपछि २०८३ भदौ २६ गते उद्योगका सेयरधनीहरूको बैंक खाता, सम्पत्ति तथा सेयरसमेत पुनः रोक्का गरिएको थियो।
लामो समयसम्म भुक्तानी प्रक्रिया अघि नबढेपछि प्रशासनिक तथा कानुनी कारबाही तीव्र पारिएको थियो। अन्ततः २०८३ असोज ३० गते श्रम अदालतको आदेशअनुसारको बक्यौता रकमसँगै भदौ र असोज महिनाको तलबसमेत जोडेर श्रमिकलाई कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी गरिएको हो। कुल भुक्तानीमध्ये ५ करोड ८६ लाख ६० हजार ३९५ रुपैयाँ २२ पैसा श्रम अदालतको आदेशबमोजिमको रकम हो। बाँकी रकम भदौ र असोज महिनाको तलबलगायत भुक्तानीसँग सम्बन्धित छ। विभिन्न चेकमार्फत १७४ जना श्रमिकलाई रकम हस्तान्तरण गरिएसँगै लामो समयदेखि रोकिएको सेवा सुविधा र पारिश्रमिक भुक्तानीको प्रक्रिया टुङ्गिएको छ।















प्रतिक्रिया दिनुहोस्