काठमाडौं। अछामको सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोडिएको छ ।
करिब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको १० किलोमिटर सडक निर्माणको ठेक्का तोडिँदा भौतिक प्रगति १९.८३ प्रतिशतमा सीमित भएको छ । २०७९ वैशाख १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक २०८२ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम नसकिएपछि निर्माण व्यवसायीलाई २०८३ वैशाख १६ गतेसम्म म्याद थप गरिएको थियो । तर, थपिएको अवधिमा समेत निर्माण सम्पन्न हुन नसकेपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो ।
निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दा पनि सडक कटान तथा संरचना निर्माणले अपेक्षित गति लिन सकेको थिएन । लामो समयसम्म काममा प्रगति नभएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो । कुल १० किलोमिटर लम्बाइको सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। ठेक्का अन्त्य गरेसँगै कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ ।
लामो समयदेखि अलपत्र ६ ठेक्का अन्त्य
सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि निर्माण अलपत्र परेका सडक तथा पुलसम्बन्धी ६ वटा रुग्ण ठेक्का अन्त्य गरेको जनाएको छ । सन् २०१९ अर्थात् २०७६ सालदेखि काम अलपत्र परेका योजनाहरूको ठेक्का तोडिएको हो । सडक डिभिजन कार्यालयका अनुसार ठेक्का अन्त्य गरिएका योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्