काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृतिका लागि ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आवेदन प्रक्रियामा रहेका छन्।
बोर्डको कात्तिक ११ गतेको अद्यावधिक विवरणअनुसार यी कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। सेबोनले आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा छ चरणमा वर्गीकरण गरेको छ। सबैभन्दा अन्तिम चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन्। आशुतोष इनर्जीले १२ लाख र कान्तिपुर फर्मास्युटिकल्सले १७ लाख कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। दुवै कम्पनीको प्रस्तावित निष्काशन रकम कुल २९ करोड रुपैयाँ छ। अन्तिम समीक्षामा पुग्दैमा आईपीओ निष्काशनको स्वीकृति सुनिश्चित भने हुँदैन। आवश्यक कागजात तथा नियामकीय मापदण्डको परीक्षणपछि मात्रै बोर्डले निर्णय गर्नेछ ।
पाँचौँ चरणमा १० कम्पनी
बोर्डको विवरणअनुसार पाँचौँ चरणमा १० कम्पनीका ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता शेयर निष्काशनसम्बन्धी आवेदनको जवाफ समीक्षा भइरहेको छ। यस सूचीमा सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी पावर र एनसी एग्रोटेक इन्डस्ट्रिजलगायतका कम्पनी रहेका छन्। यसैगरी, चौथो चरणमा १९ कम्पनीका जवाफ प्राप्त भएका छन्। डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, ह्यास हस्पिटल र सौर्य सिमेन्टलगायत कम्पनी यो समूहमा छन्। यी कम्पनीले ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। तेस्रो चरणमा भने महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट गरी चार कम्पनीका आवेदनमा बोर्डले कैफियत पठाएको छ।
प्रारम्भिक चरणमा ८२ कम्पनी
बोर्डका अनुसार, पहिलो चरणमा ७६ कम्पनीका आवेदन प्राप्त भएका छन् भने दोस्रो चरणमा छ कम्पनीको प्रारम्भिक समीक्षा भइरहेको छ। मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्ट पहिलो चरणमा छन्। दोस्रो चरणमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी छन्।सेबोनले कम्पनीका वित्तीय विवरण, विवरणपत्र, प्रतिशेयर नेटवर्थ तथा प्रचलित कानुनी मापदण्ड परीक्षण गरेर मात्रै स्वीकृति दिने व्यवस्था अनुसार ति आवेदनमाथि प्रकृयागत रुपमा कार्य गरिरहेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्