काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ।
पछिल्ला कारोबार दिनमा निरन्तर बढ्दै २७ सय अंकको नजिक पुगेको नेप्से परिसूचक शुक्रबार ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा झरेको हो ।
शुक्रबार कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम समयमा बिक्री चाप बढ्दा परिसूचक घटेर बन्द भएको छ। कारोबारका क्रममा मध्याह्न साढे १२ बजे नेप्से २७१२ विन्दुसम्म पुगेको थियो । तर, बजार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले घटेको हो । बिहीबार नेप्से ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको थियो ।
परिसूचक घटे पनि शुक्रबार कारोबार रकम भने पछिल्लो सात महिनायताकै उच्च पुगेको छ। यस दिन ३४८ कम्पनीका २ करोड २८ लाख ६२ हजार कित्ता शेयर ७४ हजार ५३ पटकको खरिदबिक्री हुँदा कुल ८ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसअघि गत वैशाख ३ गते ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।
बजारमा यस दिन १०२ कम्पनीको शेयर मूल्य बढ्दा १६९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये पाँचवटाको परिसूचक बढेको छ भने आठवटाको घटेको छ। विकास बैंक उपसमूह सर्वाधिक १.६१ प्रतिशतले बढेको छ । निर्जीवन बीमा, अन्य, व्यापार तथा म्युचुअल फण्ड उपसमूह पनि सामान्य बढेका छन् । बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह भने घटेका छन् ।
यस दिन बेनी हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशत बढेर सर्वाधिक वृद्धि भएको छ। स्वाभिमान लघुवित्तको १२.११ प्रतिशत र लुम्बिनी विकास बैंकको ७ प्रतिशतले मूल्य बढेको छ। यता मेन्छियाम हाइड्रोपावरको मूल्य सर्वाधिक ४.०८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहँदा शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् ।














प्रतिक्रिया दिनुहोस्