काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले काठमाण्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा मोइन अली र सैफ हसनले निर्णायक साझेदारी गरे। मोइनले ५१ बलमा तीन चौका र तीन छक्कासहित अविजित ५८ रन बनाए। सैफले ३९ बलमा अविजित ४० रन जोडे। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गरेका छन्।
जनकपुरले सात रनमा पहिलो र ३७ रनमा दोस्रो विकेट गुमाएको थियो। काठमाण्डुका रिपोन मन्डलले एक विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु ले १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो । उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । रासिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे ।
जनकपुरका राहुल यादवले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए । सैफ हसनले दुई तथा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुरले जितसँगै दुई अंक जोडेको छ ।














प्रतिक्रिया दिनुहोस्