Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

चक्रवात ‘अर्नब’को सम्भावित असरबारे सरकार उच्च सतर्कतामा, सबै निकाय तयारी अवस्थामा

चक्रवात ‘अर्नब’को सम्भावित असरबारे सरकार उच्च सतर्कतामा, सबै निकाय तयारी अवस्थामा
विज्ञापन
Advertisement

काठमाडौं। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै सरकारले जनधनको सुरक्षा, जोखिम न्यूनीकरण तथा अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्न मातहतका सबै निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखेको छ।

विज्ञापन
Advertisement
Advertisement

भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि, यसको प्रभावस्वरूप नेपालका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना कायमै रहेकाले सम्बन्धित निकायहरूले सावधानी अपनाएका छन्। सम्भावित मौसमी जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ। सर्वसाधारणलाई मौसमको अवस्था बुझेर आवश्यक सतर्कता अपनाउन तथा सम्भावित जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन आग्रह गरिएको छ।

पदयात्रा र पर्वतारोहणमा विशेष सतर्कता

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कने पर्यटक र पर्वतारोही टोलीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। सम्बन्धित निकायले यात्रा सुरु गर्नुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन सुझाव दिएका छन्। मौसमको अवस्था प्रतिकूल देखिएमा जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

हवाई सुरक्षाका लागि विमानस्थलदेखि सञ्चार प्रणालीसम्म तयारी

सम्भावित प्रतिकूल मौसमकाबीच हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालन तथा हवाई यातायात व्यवस्थापनसँग सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन, धावनमार्गको निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीको तयारी सुनिश्चित गर्न जोड दिएको छ। मौसमका कारण हवाई सेवामा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै उडान सुरक्षासम्बन्धी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।

जिल्ला प्रशासन कार्यालयहरूलाई पनि सतर्कता अपनाउन आग्रह

सम्भावित मौसमी जोखिमको सामना गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो क्षेत्रको जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन्। सरकारले सम्भावित जोखिम न्यूनीकरण, नागरिकको सुरक्षा र अत्यावश्यक सेवाको प्रभावकारी सञ्चालनलाई प्राथमिकतामा राख्दै सरोकारवाला निकायहरूबीच समन्वय र तयारीलाई महत्त्व दिएको जनाएको छ।

अफवाहबाट जोगिन सरकारको अपिल

सरकारले चक्रवातसम्बन्धी भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न नागरिकलाई आग्रह गरेको छ। मौसमको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न तथा मौसम पूर्वानुमानअनुसार आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ। चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने अनुमान गरिए पनि आज रातीबाटै विभिन्न प्रदेशका जिल्लाहरुमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले नागरिकले सतर्कता अपनाउनुपर्ने मौसम विभागले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit